नामसालिङ संस्थाद्धारा राप्ती–९ रूपाकोटमा सहकारी संस्थाको संस्थागत क्षमता विकास तालिम सम्पन्न
भालुवाङ २८ मंसिर । दाङको राप्ती गाउँपालिका–९, रूपाकोटमा सहकारी संस्थाको संस्थागत क्षमता विकास सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङ सँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष श्री रिम बहादुर सुनारीले गरेका थिए । नासाविकेको “एकीकृत सामुदायिक विकास परियोजना” अन्तर्गत गठन भएको राप्ती कृषि सहकारी संस्थाका सञ्चालक समिति पदाधिकारी तथा सेयर सदस्य गरी १९ जनाको तालिममा सहभागिता रहेको थियो । तालिममा सहकारी संस्था भित्र बचत तथा पूँजी निर्माण, पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार, कार्यविधि, सहकारीमा देखिन सक्ने जोखिमका क्षेत्र तथा जोखिम व्यवस्थापन, उत्पादन तथा खरिद–बिक्री योजना, व्यवसायिक योजना लगायतका विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो ।
२०८२ साल मंसिर २६ र २७ गते सम्पन्न तालिमको सहजीकरण प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेल र प्रदेश कृषि, भूमि तथा सहकारी मन्त्रालयका उपसचिव हरिप्रसाद पण्डितले गरेका थिए । कार्यक्रमको व्यवस्थापन नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयोजक धर्म यादवले गरेका थिए । तालिमले सहकारी संस्थाको सुशासन, व्यवस्थापन क्षमता तथा व्यवसायिक दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्

