कोही नहुनेहरूको सहारा बन्दै ‘आशाका किरण’ संस्था : भालुवाङका एक जेष्ठ दम्पत्तीलाई सहयोग



कोही नहुनेहरूको सहारा बन्दै ‘आशाका किरण’ संस्था : भालुवाङका एक जेष्ठ दम्पत्तीलाई सहयोग

भालुवाङ २८ मंसिर । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ आँपखोली टोल निवासी एक जेष्ठ दम्पत्तीलाई आशाका किरण संस्थाले सहयोग गरेको छ ।संस्थाले ७७ वर्षिय इन्द्रबहादुर खत्री र ८० वर्षिय रिमा खत्रीको पारिवारिक अवस्था निकै कमजोर र बुढेस कालमा साहारा दिने कोही नभएको थाहा पाएपछि संस्थाले आइतवार बेलुका खत्रीको घरमै पुगेर करिब ८ हजार रुपैयाँ बराबरको न्यानो सामग्री सहयोग गरेको छ । जसमा १÷१ वटा म्याट्रेस, सिरानी, फाइबर सिरक, १÷१ सेट न्यानो चप्पल र १÷१ सेट टाउजर प्रदान गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्काको रोहवरमा उक्त सामाग्री प्रदान गरिएको संस्थाका महासचिव लोकमणी भुसालले जानकारी दिएका छन् ।बुढेसकालमा स्याहार–सुसार गर्ने कोही नभएको खत्री दम्पत्ती दुवै जना शारीरिक रूपमा विभिन्न रोगबाट पीडित छन् । इन्द्रबहादुरलाई सुगर, प्रेसर तथा आँखाको समस्या छ भने रिमा प्रेसरको बिरामी छिन् । चिसो मौसमलाई ध्यानमा राख्दै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत असहाय, विपन्न तथा सहयोगको खाँचोमा परेकाहरूलाई निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसी, महासचिव लोकमणी भुसाल, सचिव पवित्रा विश्वकर्मा, कोषाध्यक्ष ममता गिरी, सदस्य सिर्जना खड्का, प्रेस संयोजक ओमप्रकाश गुप्ता र संस्थाका शुभचिन्तक ईश्वर केसीको विशेष उपस्थिती रहेको थियो । यसै बीच संस्थाले इच्छुक सहयोगीहरूले थप सहयोग गर्न चाहेमा सिधै सम्बन्धित स्थानमा पुगेर वा ‘आशाका किरण’ संस्था मार्फत भौतिक तथा आर्थिक सहयोग गर्न सक्ने संस्थाले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे