लुम्बिनी प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन समन्वयात्मक बैठक सम्पन्न
देउखुरी २८ मंसिर । नेपाल परिवार नियोजन संघले लुम्बिनी प्रदेशमा सञ्चालन गरिरहेका कार्यक्रमहरूको बिषयमा समन्वयात्मक बैठक आज आईतबार दाङ–देउखुरीको भालुवाङमा सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ दाङ शाखाको आयोजनामा तथा स्वास्थ्य निर्देशनालयको समन्वय सहयोगमा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाहरूबीच समन्वयात्मक बैठक सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीको अध्यक्षतामा एवम् लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकमा लुम्बिनी प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र निरन्तरताबारे गम्भीर छलफल गरिएको थियो । यस्तै बैठक नेपाल परिवार नियोजन संघअन्तर्गत सञ्चालित भ्ऋऋम् परियोजनाबाट कार्यान्वयन गरिएका विभिन्न गतिविधिहरूको प्रस्तुत गरिएको थियो ।
बैठकमा नेपाल परिवार नियोजन संघका पाल्पा, दाङ, रुपन्देही, नवलपरासी र बाँके शाखाबाट प्रदान गरिँदै आएका सेवा, कार्यक्रम तथा उपलब्धिहरूबारे नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रबन्धक बसन्त खनालले विस्तृत जानकारी गराएका थिए । उनले प्रदेशस्तरमा संघले गरेको योगदान र आगामी दिनमा सहकार्यका सम्भावनाहरूको समेत उल्लेख गरे ।

बैठकमा संघ र सरकारी निकायहरूबीच आपसी समन्वय गर्न सकिने सम्भावित क्षेत्रहरू पहिचान गर्दै परिवार नियोजन सेवाको निरन्तरता र सुनिश्चितताका लागि नियमित आपूर्तिको व्यवस्थापनलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो । छलफलका क्रममा सिमान्तकृत, पिछडिएका तथा पहुँचबाट टाढा रहेका समुदायसम्म यौन तथा प्रजनन स्वास्थ्य सेवा पुर्याउन सरोकारवाला संघ–संस्था र स्वास्थ्य मन्त्रालयको भूमिका, नीति समन्वय र सहकार्यका उपायहरूबारे सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए ।

बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले परिवार नियोजन संघले लुम्बिनी प्रदेश क्षेत्रमा गरेका कामहरूको उच्च प्रशंसा गर्दै कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन सुझाब दिए । उनले परिवार नियोजन संघ संग स्वास्थ्य मन्त्रालय आवश्यक समन्वय, सहयोग र सहकार्य गर्न तयार रहेको बताए । यस्तै बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले परिवार नियोजन संघले सञ्चालन गर्दै आईरहेको कार्यक्रमहरू एकदमै प्रभाबकारी बन्दै गरेको उल्लेख गरे । उनले उक्त कार्यक्रमहरू ग्रामिण समुदायका नागरिकहरूलाई जोडेर थप प्रभाबकारी बनाउन सुझाब दिए ।

साथै बैठकले बैठकले सरकारी तथा गैरसरकारी निकायबीच समन्वयलाई अझ सुदृढ बनाउँदै लुम्बिनी प्रदेशमा FP/SRHR सेवाको प्रभावकारी विस्तारमा योगदान पुर्याउने निष्कर्ष निकालेको छ । सरकारी निकाय र गैरसरकारी संघ–संस्थाबीच समन्वयलाई अझ मजबुत बनाउँदै लुम्बिनी प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको प्रभावकारी विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमको सञ्चालन स्वास्थ्य निर्देशनालयका परिवार नियोजन निरिक्षक कुमार थापाले गरेका थिए ।



