गढवा सामाजिक उद्यमी महिला सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
गढवा २७ मंसिर । गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार गढवामा सम्पन्न भएको छ।
कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष शोभा रावतको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्य एवं गढवा गाउँपालिकाका कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुले उत्पादनमुखी सहकारी अभियानका कारण गढवाका दिदीबहिनीहरूको अनुहारमा नयाँ चमक आएको बताएका छन् । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि महिलाहरू नीति–निर्माणको तहसम्म सहभागी हुन थालेको उल्लेख गर्दै, सहकारीले समाजवाद उन्मुख लक्ष्यअनुसार महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको धारणा राखे। गढवा गाउँपालिकाले उद्यमशीलता, कृषि तथा पशुपालनमार्फत महिलालाई आत्मनिर्भर बनाउँदै लगेका कार्यक्रमहरू देशकै नमुना बन्दै गएको थारुको भनाइ थियो।
विशिष्ट अतिथि तथा गढवा गाउँपालिकाका कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीले सहकारीमार्फत कृषकका खसी–बोका, दूध, तरकारी तथा खाद्यान्नको प्रभावकारी बजारीकरण भएपछि पालिकाभित्र कृषि तथा पशुपालनप्रति आकर्षण बढ्दै गएको बताइन्। सहकारी प्रणालीले गरिबीको रेखामुनि रहेका साना तथा मध्यम किसानको आयस्तर वृद्धि गर्न ठूलो भूमिका खेलिरहेको उनको तर्क थियो।
यस्तै, भिटा परियोजनाका संयोजक बसन्त कुमार शर्माले गढवा गाउँपालिकाले साना तथा गरिब किसानलाई कृषि–पशुपालनमार्फत उद्यमशील बनाउने उद्देश्यका साथ काम गरिरहेको जानकारी दिए । केही महिनाअघि सहकारीमार्फत किसानले उत्पादन गरेको दूध उचित मूल्यमा बिक्री गर्न व्यवस्थापन गरिएपछि तीन महिनामै १९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको तथ्य प्रस्तुत गर्दै उनले सहकारी अभियानले वास्तविक परिवर्तन ल्याइरहेको बताए ।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगर, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेल, विशिष्टीकृत सहकारी संघ बुटवलका महाप्रबन्धक अर्जुन अधिकारी, हेफर परियोजनाका प्रबन्धक महेश आचार्य, उद्यमी महिला हिरा मोति चौधरीलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सहकारीकी सचिव मिना कुमारी खत्रीले संस्थागत प्रतिवेदन तथा वार्षिक प्रगति प्रस्तुत गर्नु भएको थियो। कर्मचारी कैलाश चौधरीले आर्थिक प्रतिवेदन र व्यवस्थापक रम्भूनाथ चौधरीले आगामी वर्षका नीति, कार्यक्रम तथा योजनाहरू प्रस्तुत गरेका थिए ।
पत्रकार देखि उद्यमीसम्मलाई सम्मान
सहकारीको वार्षिक साधारण सभामा सञ्चारमार्फत कृषि तथा पशुपालन र महिला उद्यमशिलता प्रवर्द्धनमा योगदान गर्ने पत्रकार
दशरथ घिमिरे, शिवराज पन्थी, आलोक भावुक र दुखहरण यादवलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो। त्यसैगरी सहकारी अभियानमा विभिन्न कोणबाट सहयोग पुर्याउने संस्थाहरू गढवा गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल, ग्रामीण महिला उत्थान केन्द्र दाङ, विशिष्टीकृत सहकारी संघ बुटवल, उत्कृष्ट बचतकर्ता प्रगति महिला समूह (गढवा–७), समुन्नती सहकारी संस्था लमही, उत्कृष्ट पशुपालक सिता बुढामगर (गढवा–२), तथा मखमली उद्यमी सहकारी संस्था (गढवा–७) की दिपा चौधरीलाई सम्मान गरिएको थियो।
यस्तै, सहकारी अभियानलाई गाउँ–गाउँमा पुर्याउँदै आएका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा तथा सामाजिक परिचालक आशा श्रेष्ठ, कल्पना चौधरी, जया बिश्वकर्मा, बाबुराम यादव, कैलाश चौधरी, अभिषेक गिरी, माया चौधरी, यमुना सुवेदी र अम्बिका शर्मालाई प्रशंसापत्र प्रदान गरिएको थियो।अमिला राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन माया समालले गरेका थिए ।

