तिलगंगा आँखा सर्जिकल केन्द्रलाई आँखा अस्पतालको रुपमा स्तरोन्नती गरिने
सिसहनियाँ २५ मंसिर । दाङको राप्ती गाउँपालिका क्षेत्रका नागरिकलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन सिसहनियाँ स्थित तिलगंगा आँखा सर्जिकल केन्द्रलाई स्तरोन्नति गरी आँखा अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी भएको छ ।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र द फ्रेड हलोज फाउन्डेसनको सहयोगमा सञ्चालित ‘एसटिसी २’ परियोजनाअन्तर्गत बिहीबार केन्द्रमा सम्पन्न सल्लाहकार बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले राप्ती आधारभूत अस्पताल तथा अन्य स्वास्थ्य इकाईहरू र तिलगंगा आँखा उपचार केन्द्रबीच समन्वय बढाई औषधि, चश्मा, सर्जिकल सेवा तथा मधुमेह–उच्च रक्तचापसम्बन्धी उपचार स्थानीयस्तरमै उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकमा उल्लेख भएअनुसार, अस्पताल निर्माणका लागि राप्ती गाउँपालिकाले पुरानो स्वास्थ्य चौकीको भवन उपलब्ध गराउने तयारी गरिसकेको छ । सोसँगै, एसटिसी परियोजनाले पूर्वाधार विकास तथा सेवा विस्तारका जिम्मेवारी वहन गर्नेछ । विद्यालयस्तरको आँखा जाँच कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारसँग सहकार्य गर्ने, तालिमप्राप्त शिक्षकमार्फत नियमित आँखा जाँच सञ्चालन गर्ने, नेत्र विशेषज्ञ सेवा छिट्टै उपलब्ध गराउने तथा जनचेतनामूलक गतिविधि थप सुदृढ गर्ने निर्णय पनि बैठकमा गरिएको छ ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा नं. ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत हरिबहादुर कार्की, परियोजना व्यवस्थापक रवि गौतम, केन्द्रका इञ्चार्ज बिमलबहादुर बुढा क्षेत्री, राप्ती आधारभूत अस्पतालका मेसु डा. सुशील केसी, शिक्षा शाखाकी प्राविधिक सहायक देवी मल्ल, जनस्वास्थ्य निरीक्षक पोषणराज शर्मा, रेडक्रस उपशाखा लालमटियाका सभापति उत्तम अधिकारी, उद्योग वाणिज्य संघ सिसहनियाँका वरिष्ठ उपाध्यक्ष मदन पोख्रेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख नारायण बहादुर राउत तथा पत्रकारहरु ओमप्रकाश गुप्ता, सन्तोष कुमार गुप्ता, इराधा झार्की मगर, राप्ती गाउँपालिकाका सञ्चार संयोजक तुलबहादुर कवर मगर लगायतको उपस्थिति रहेको थियो ।

