तीन ठुला राजनीतिक दल कै कारण देश खरानी भएको हो : केन्द्रीय अध्यक्ष रेग्मी



तीन ठुला राजनीतिक दल कै कारण देश खरानी भएको हो : केन्द्रीय अध्यक्ष रेग्मी

देउखुरी २५ मंसिर । अखिल नेपाल किसान महासंघ (अफ्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले तीन ठुला राजनीतिक दलका कारण देश खरानी भएको आरोप लगाएका छन् । राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति दाङ—देउखुरीले बिहीबार दाङको लमहीमा आयोजना गरेको प्रचारात्मक जनसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

केन्द्रीय अध्यक्ष रेग्मीले आफूलाई ठुला दल बताउने कांग्रेस, एमाले र माओवादीको सत्ता लुटकै कारण जेन्जी आन्दोलन भएको इंगित गरे । उनले पछिल्लो समय तीन ठुला दलकै कारण देशमा व्यापक भ्रष्टाचार, अनिमितता र कुशासन मौलाएको भन्दै जेन्जी पुस्ता आन्दोलनमा उत्रिएको टिप्पणी गरे । साथै केन्द्रीय अध्यक्ष रेग्मीले भदौ २३ र २४ को जेन्जी आन्दोलनबाट भएका सम्पूर्ण घटनाको नैतिक जिम्मेवारी तत्कालिन सत्तापक्ष र प्रतिपक्ष दलले लिनुपर्ने टिप्पणी गरे ।

राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षता एवम् राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मीको प्रमुख आतिथ्यतामा भएको सभामा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपाली ठुला दलका नेताहरुको अहंमताले जेन्जी आन्दोलन भएको बताए । उनले तीन ठुला दल कै लुटतन्त्र कै कारण देशमा गणतन्त्र, संविधान र राष्ट्रियता खतरामा परेमा आरोप लगाए । कार्यकारी अध्यक्ष नेपालीले काँग्रेस, एमाले र माओवादीले आलोपालो बाँडीचुँडी खाने प्रबृतिले देशमा जेन्जी आन्दोलनले स्थान पाएको टिप्पणी गरे ।

यस्तै राजमोका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अब देश कता जान्छ, भन्ने अवस्था नरहेको टिप्पणी गरे । उनले जनताहरु ठुला दलका प्रबृति कै कारण चरम निरासामा छाएको बताए । अध्यक्ष आचार्यले सत्ता र सरकारमा बस्ने दलहरु जनताका समस्या हल गर्ने तर्फ नभई राष्ट्रघात मै लागे कै कारण पछिल्लो समय राजनिति दलहरु प्रति चरम बितृष्णा पैदा भएको बताए । यस्तै पार्टीका केन्द्रीय सदस्य कमला जिसीले अब ठुला दलका नेता र नेतृत्वहरु सच्चिने बेला आएको बताइन् । उनले पार्टी ठुलो हँुदैमा अब केही नहुने बताउँदै अहिलेको राष्ट्रिय संकटका बेला सबै राजनितिदलहरु गम्भीर हुन आवश्यक रहेको बताइन् ।

राष्ट्रिय जनमोर्चा दाङका जिल्ला उपाध्यक्ष महेश रिजालको स्वागत मन्तव्यबाट सुरू भएको सभामा उद्योग व्यापार संघ जिल्ला सचिव ठाकुर भण्डारी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैंठौंका केन्द्रीय सदस्य सेवक भट्टराई लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव बसन्तराज शर्मा पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे