विदेशको सीप स्वदेशमा, चोपेको केरा चिप्सले बजार लिदै



विदेशको सीप स्वदेशमा, चोपेको केरा चिप्सले बजार लिदै

भालुवाङ २४ मंसिर । दाङका एक युवा अहिले विदेशमा सिकेको सीप स्वदेशमै प्रयोग गर्दै उद्योग सुरु गरेका छन् । राप्ती गाउँपालिका–८ पिपरीका २५ वर्षीय चोपलाल सुवेदीले सिसहनियाँमा सुरु गरेको ‘केरा चिप्स’ उत्पादन व्यवसाय छोटो समयमै स्थानीय बजारमा लोकप्रिय बन्दै गएको छ ।

प्रायः धेरै युवाहरू रोजगारीका लागि विदेशी भूमीतर्फ आकर्षित भइरहेका बेला सुवेदीले भने विदेशमा सिकेको सीप गाउँमै लगानी गरेर उदाहरण प्रस्तुत गरेका छन् । करिब तीन वर्ष अघि रोजगारीको खोजीमा उनी दुबई हुँदै केरला मुम्बई, हरियाना, बंग्लोर पुगेका थिए । त्यहाँ होटलमा कार्यरत रहँदा उनले चिप्स बनाउने सिप सिके । त्यही सीपलाई आधार बनाउँदै दुई महिना अघि उनले आफ्नै गाउँ सिसहनियाँमा ‘केरा चिप्स’ उत्पादन सुरु गरेका हुन् ।

स्थानिय कच्चा पदार्थ र न्यून लगानीमा उद्योग विस्तार
सुवेदीका अनुसार गाउँमा आवश्यक कच्चा पदार्थ सहजै उपलब्ध हुने, लगानी पनि धेरै नचाहिने र बजारको सम्भावना राम्रो देखिएकोले उनले व्यवसायलाई नियमित रूपमा अघि बढाएका छन् । “दुबईमै लगायतका शहरमा सिकेको सीपलाई यहाँ प्रयोग गर्न मन लाग्यो,” सुवेदी भन्छन्, “सुरुवातमा थोरै मात्र सप्लाइ गर्थें, अहिले भने माग धेरै बढिरहेको छ ।” हाल सुवेदीले ५० र १०० रुपैयाँ मूल्य पर्ने पोका बजारमा उपलब्ध गराइरहेका छन् । थोकमा वा किलोमा किन्न चाहनेका लागि ७ सय रुपैयाँमा बिक्री गर्दै आएका छन् । “गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने देखाउन चाहेको हुँ,” उनले थपे ।

आम्दानी कम तर सन्तुष्टि धेरै
विदेशमा काम गर्दा तुलनात्मक रूपमा आम्दानी बढी भए पनि स्वदेशमै सुरु गरिएको उद्यमले आफूलाई धेरै खुसी दिएको सुवेदी बताउँछन् । घरपरिवारसँग बस्न पाउने, आफ्नै समय व्यवस्थापन गर्न सक्ने र गाउँमै रोजगारी सिर्जना गर्न सकिएकोले यो व्यवसायबाट आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।
उनका अनुसार उत्पादन प्रक्रिया बिहानैदेखि सुरु हुन्छ । कच्चा केरा सङ्कलन, सफाइ, काट्ने, तेलमा फ्राइ गर्ने र प्याकेजिङ—सबै काम आफू र आफ्नो घरपरिवारले गरिरहेका छन् । माग धेरै बढेमा गाउँमा केहि युवाहरुलाई रोजगारी दिने पलान रहेको बताए ।

गुणस्तर, स्वाद र प्याकेजिङका कारण लोकप्रिय

स्थानीय बजारमा सुवेदीले उत्पादन गरेको केराको चिप्स स्वास्थ्यकर, स्वादिलो र स्वच्छ भएको भन्दै धेरैले रुचाइरहेका छन् । बजारमा पाइने सामान्य चिप्स भन्दा घरायसी शैलीमा बनाइएको केराको चिप्स स्वादमा मिठो, नरम र गुणस्तरीय भएको ग्राहकहरूले प्रतिक्रिया दिएका छन् । “चोपलालले बनाएको चिप्स निकै सफा र स्वादिलो छ,” स्थानीय व्यापारी सुभाषचन्द्र गुप्ता भन्छन्, “विशेषगरी यसको कुरकुरोपन र प्राकृतिक स्वाद नै उपभोक्तालाई मन पर्छ ।”
प्याकेजिङमा पनि सुवेदीले विशेष ध्यान दिएका छन् । आकर्षक, सफा र लेबल सहितको प्याकेजिङ भएकाले यसको बजार माग पनि बढ्दो छ । स्थानीय किराना पसलदेखि क्याफे र साना होटल सम्म उनले वितरण गर्दै आएका छन् ।

अगामी लक्ष्य : उत्पादन विस्तार र अनलाइन बिक्री
अबको दिनमा गुणस्तर अझ सुधार गर्दै उत्पादनलाई थप व्यावसायिक बनाउने योजना सुवेदीको छ । उनी प्याकेजिङलाई अझ आधुनिक बनाउने, उत्पादनको विविधता बढाउने र अनलाइन मार्फत बिक्री सुरु गर्ने तयारीमा छन् । “उपभोक्ताले गुणस्तरीय उत्पादन मन पराइदिएपछि व्यवसाय विस्तार गर्ने हौसला पाएको छु,” सुवेदी भन्छन्, “अहिले स्थानीय बजारमै केन्द्रित छौँ, आगामी दिनमा दाङ भरि र अन्य जिल्लामा पनि पठाउने सोच छ ।”

युवालाई प्रेरणा दिने उद्यमशीलताको उदाहरण
गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने उनको प्रयासले स्थानीयहरूमा प्रेरणा थपेको छ । विदेशतिर मात्र निर्भर हुनु नपर्ने, सीप र लगनशिलता भए स्वदेशमै अवसर प्रशस्त हुने सन्देश सुवेदीले दिएको स्थानीयवासी बताउँछन् । स्थानीय व्यापारीहरु भन्छन्, “चोपलाल जस्ता युवा उद्यमीहरूको पहलले गाउँमा रोजगारी सिर्जना हुन्छ, युवाहरू विदेशमा मात्र निर्भर हुनुपर्दैन । यो एक प्रेरणादायी उदाहरण हो ।” गाउँमै उपलब्ध संसाधन, विदेशमा सिकेको सीप र स्वदेशमै केही गर्नु पर्ने दृढ इच्छा शक्तिबाट सुरु गरिएको यो व्यवसाय अहिले दाङमा एक सफल मोडेल बन्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे