लोभ र खराब नियतले भ्रष्टाचार बढाउँछ : सभामुख घर्ती



लोभ र खराब नियतले भ्रष्टाचार बढाउँछ : सभामुख घर्ती

भालुवाङ २३ मंसिर ।  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले भ्रष्टाचार अन्त्यका लागि मानिसले लोभ त्याग्नुपर्ने बताएका छन् ।

भ्रष्टाचार विरुद्धको दिवसका अवसरमा मंगलबार राप्ती उपत्यका देउखुरीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख घर्तीले लोभ गर्ने प्रवृत्तिलेनै भ्रष्टाचार बढाएको बताएका हुन् ।‘लोभ त्याग्नुपर्छ । लोभै नगरेपछि भ्रष्टाचार हुदैन’उनले भने,‘नेपाली समाजमा इमान खस्केको छ, वेमान बढेको छ । नियत ठिक हुनुपर्छ ।’ योजना तर्जुमाको प्रक्रियामा समेत योजना किनबेच हुने गरेका घटनाहरु समेत हुने गरेको भन्दै सुधारकालागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

प्रमुख सचिव कृष्णप्रसाद कार्पीको अध्यक्षता तथा सभामुख घर्तीमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले भ्रष्टाचार अन्त्यकालागि राजनीतिक प्रतिबद्धताको आवश्यक रहेको धारणा राखे ।‘मुल साँचो भनेकै राजनीतिक प्रतिबद्धता हो । भ्रष्टाचार अन्त्यका लागि राजनीतिक प्रतिबद्धता आवश्यक छ’उनले भने,‘मुल सुधारियो भने सबै सुध्रिनेछ ।’ कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरुले नैतिकता, सदाचारी, सामाजिकरण क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने, सुशासन प्रवद्र्धनमा युवाहरूलाई जोड्नुपर्नेमा चर्चा गरिएको थियो । मुख्यमन्त्री कार्यालयका सचिव मोतिराम साप्कोटाको स्वागत र बिषय प्रवेशबाट सुरुभएको कार्यक्रमको सहजीकरण वरिष्ठ उपसचिव सुरेश आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे