धानखोला–लमही चारलेन संघर्ष समितिले बुझायो भौतिक पूर्वाधार मन्त्री घिसिङलाई ध्यानकर्षण-पत्र



धानखोला–लमही चारलेन संघर्ष समितिले बुझायो भौतिक पूर्वाधार मन्त्री घिसिङलाई ध्यानकर्षण-पत्र

काठमाडौँ २१ मंसिर । धानखोला लामही चार लेखन सडक निर्माण संघर्ष समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानकर्षण पत्र बुझाएको छ । समितिका संयाेजक प्रकाश शाहीले मन्त्री घिसिङलाई भेटेर ध्यानकर्षण पत्र बुझाएका हुन् ।

पूर्वपश्चिम राजमार्गको धानखोलादेखि लमही सडकखण्डलाई २ लेन मात्रै बनाउने गरि प्रक्रिया अगाडि बढेपछि स्थानीयवासी सङ्घर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका छन् । स्थानीयवासीले सडक चार लेनको बनाउनुपर्ने माग गरेका छन् । यस सडक खण्डमा लुम्बिनी प्रदेश राजधानी देउखुरी समेत पर्छ ।

देउखुरी तिब्र सहरीकरण उन्मूख छ । विश्वभर झण्डै १३ हजार किलोमिटरको सञ्जाल रहेको एसियन हाइवेको एउटा खण्ड रहेको पूर्वपश्चिम राजमार्ग सबै ठाउँमा चार लेन र प्रति घण्टा १२० किलोमिटर गतिलाई ध्यानमा राखेर बनिरहेको छ । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेसनको अनुदानमा बन्न लागेको पूर्वपश्चिम राजमार्गकै धानखोला–लमही खण्डमा भने जम्मा २ लेनको मात्रै बनाइदै छ ।

“एमसिए नेपालले धानखोला लमहि सडक आयोजना (४० किलोमिटर) दुई लेन सडक बनाउने प्रस्ताव गरेको छ । यस कार्यालयका प्रतिनीधिहरूले भेटघाटमा उक्त सडक दुई लेन भन्दा बढाउन नसकिने स्पष्ट गरेको छ,”मन्त्री घिसिङलाई बुझाइएको ध्यानकर्षण पत्रमा भनिएको छ,“प्रतिनीधिले कामको टेन्डर प्रक्रिया अगाडि बढाएको समेत जानकारी गराएका छन् ।

यदि यी काम अघि बढे यो प्रदेश राजधानीलाई विकासको नाममा प्रयोगशाला बनाउने काम मात्र हुने छ । त्यस कारण एउटा आधुनिक सहर बन्ने सम्भावना बोकेको लुम्बीनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्लाको देउखुरी क्षेत्रमा एमसिए नेपाल द्वाराप्रस्तावित दुई लेनको धानखोला लमहि सडक खण्ड रोक्न हुन हामी जिल्लावासीको तर्फबाट मन्त्रालय समक्ष विषेश अनुरोध गर्दछौँ । ”

प्रदेश राजधानी समेत रहेको देउखुरी क्षेत्र हालको (धान खोलादेखि शिव खोलासम्मको ८० किलोमिटर) दुई लेनको बाटो साँघुरो भई अत्यधिक दुर्घटनाहरू हुँदा हाल भालुबाङदेखि लमही क्षेत्रसम्म टाईम कार्ड लागु गरिएको समेत संघर्ष समितिले मन्त्री घिसिङलाई स्मरण गराएको छ ।

संघर्ष समितिले धानखोला लमही सडक खण्डको पुनः सर्वे गरी डिजाइन नक्साहरू छ लेन र चारलेनका लागि आवश्यक परिमार्जनसहित नेपाल सरकारले नै धानखोला लमही सडक खण्ड निर्माणको काम अगाडि बढाउन मन्त्री घिसिङलाई आग्रह गरेको छ ।

माग सम्बोधन नगरी दुई लेन कै बाटो अगाडि बढाईएमा एमसिए नेपालको काम रोकी चरणवद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने पनि संघर्ष समितिले चेतावनी दिएको छ । भेटका क्रममा मन्त्री घिसिङले डिजाइन त्रुटीपूर्ण रहेको र यसलाई सच्याउन जनदबाब आवश्यक रहेको बताएको संघर्ष समितिका संयोजक शाहीले जानकारी दिए ।

-टक्सार न्युजबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे