लमही गोली काण्ड : स्थानिय सरकार र सुरक्षा निकायलाई लमही चेम्बरको दवाब स्वरुप ज्ञापन-पत्र
लमही २१ मंसिर । दाङको लमहीमा गोली चलेको घटनाप्रति लमही चेम्बर अफ कमर्सले कडा आपत्ति जनाएको छ । गएकाे शनिबार दिउँसो करिब १:३५ बजे लमही बजारस्थित जुनतारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरी व्यवसायी घाइते बनाइएको घटनाप्रति लमही चेम्बर अफ कमर्सले कडा आपत्ति जनाएको हो ।
चेम्बरले सुरक्षित व्यावसायिक वातावरण विहीन हुँदै गएको घटनाले व्यवसायी समुदाय त्रसित बनेको जनाउँदै तत्काल घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग समेत गरेको छ । चेम्बरका अध्यक्ष किरण कुमार बुढाथोकीद्वारा जारी विज्ञप्तिमा लगातार बढिरहेका आपराधिक गतिविधिहरूले व्यावसायिक सुरक्षा कमजोर भएको उल्लेख गरिएको छ । उनी भन्छन्, “पछिल्लो समय लमही क्षेत्रमा व्यापारी तथा सर्वसाधारण सुरक्षित छन् भन्ने अनुभूति हुन छाडेको छ। यस्तो घटना दोहोरिन नदिन तत्काल सुरक्षा व्यवस्थामा कडाइ आवश्यक छ ।”
विज्ञप्तिमा घटनामा घाइते व्यवसायी दीपक सुनारको स्वास्थ्य लाभको कामना गर्दै रातको समयमा समेत बजार क्षेत्रमा प्रहरी गस्ती निरन्तर हुनुपर्ने माग राखिएको छ । चेम्बरले प्रहरी प्रशासनले घटनालाई गम्भीर रुपमा लियाेस र बजार क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न प्रभावकारी कदम चालियोस् भन्ने अपेक्षा गरिएको छ ।
यसबाहेक, चेम्बरले व्यापार व्यवसाय सुचारु तथा सुरक्षित राख्ने दायित्व राज्यको भएकाले निकायहरूबीच समन्वय वृद्धि गर्न बलियो आग्रहसमेत गरेको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन, योजनाबद्ध अपराध नियन्त्रण तथा व्यवसायीलाई सुरक्षा प्रत्याभूति दिलाउन आवश्यक कदम चाल्न चेम्बरले माग गरेको छ ।
साथै चेम्बरले स्थानिय सरकार, वडा सरकार र सुरक्षा निकायलाई दवाबमुलक ध्यानाकर्षण गराएको छ । अध्यक्ष बुढाथोकी ध्यानाकर्षण पत्र बोकेर कार्यालय पुगी छलफल समेत गरेका छन । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी, लमही-५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेय लाई चेम्बरले ध्यानाकर्षण पत्र बुझाउदै छलफल समेत गरेको हो ।
ज्ञापनपत्र बुझ्दै लमही नगरप्रमुख जोगराज चौधरीले सुरक्षा निकायसँग समन्वय गर्दै तत्काल नगरप्रहरी बाटपनि निरन्तर गस्ति गराउने बताए । सुरक्षाको प्रत्याभुती दिलाउन पालिकाले कुनै कसर बाँकी नराख्ने र आबस्यक जनशक्ति समेत खडागरी शान्त नगर निर्माणमा पालिका कटिबद्ध रहने बताए ।
त्यस्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख रोशनराज पाण्डेयले सुरक्षाका निम्ति प्रहरी सक्रिय हुँदै आएको भएपनि अपराधिक गतिबिधीले केही चुनौती थपेको स्मरण गरे । अप्रिय घटनाप्रती चिन्ता ब्यक्त गर्दै उनले सुरक्षाका निम्ती सबै नागरिकको दायित्व रहने र थप सक्रियता बढाउने जनाए । त्यस्तै लमही-५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी सागरले सुरक्षाका निम्ति प्रहरी नै अग्रस्थानमा रहेको र प्रहरीको सक्रियता नै सुरक्षाको मुल आधार भएको बताए ।
वडा तथा नगरबाट नगरप्रहरीबाट गस्ति गराईरहेको अबस्था छ । थप सुरक्षित आभासका निम्ति हामी प्रहरी सँग सल्लाह गरेर अगाडि बढ्नेछौ उनले भने-व्यापारी साथीहरुलाई सुरक्षाको अनुभूति भएन भने ब्यापारमा लगानी गर्नुको अर्थ रहँदैन । लमही चेम्बरले व्यापारी र ब्यसायको सुरक्षाका निम्ति बढि जिम्वेवार बनेर कडाईका साथ छलफललाई निरन्तरता दिईरहेको छ ।

