दाङको राप्तीमा घर पलस्टर गर्ने क्रममा खसेर दुई जना घाइते
भालुवाङ १९ मंसिर । दाङको राप्ती गाउँपालिका–२ बराखुट्टीमा पक्की घर पलस्टर गर्ने क्रममा खसेर दुई जना घाइते भएका छन्। पार्बती परियारको दुई तले पक्की घरको बाहिरी भागमा काठको टेका लगाई पलस्टर गर्दै गर्दा आज बिहान करिब ११ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा एकतानगर बस्ने ३८ वर्षीय बिरबहादुर चौधरी र ३३ वर्षीय बिश्वराज चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बिरबहादुरको टाउको र ढाडको भित्री भागमा चोट लागेको छ भने बिश्वराजको टाउको, छाती, कान र दायाँ खुट्टाको घुँडामा चोट लगेको प्रहरीले बताएको छ।
घाइते दुबै जनालाई भालुवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्

