आदर्श नमुना माविको ६५ औं वार्षिकोत्सब, निशुल्क शिक्षाको महत्व बुझ्न जरूरी छ : सांसद थारु



आदर्श नमुना माविको ६५ औं वार्षिकोत्सब, निशुल्क शिक्षाको महत्व बुझ्न जरूरी छ :  सांसद थारु

भालुवाङ १६ मंसिर । दाङको गाउँपालिका–२ लालमटियामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलवान चौधरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री इन्द्रजित थारूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै थारूले निशुल्क शिक्षाको महत्व सवैले बुझ्न जरूरी रहेको बताएका छन् । निशुल्क शिक्षालाई सहि तरिकाले कार्यान्वयन नगर्दा अहिले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सोचे जस्तो सुधार हुन नसकेको बताएका छन् । निशुल्क शिक्षा नीतिको सही तथा प्रभावकारी कार्यान्वयन नहुँदा सामुदायिक विद्यालयमा शिक्षा क्षेत्रले अपेक्षित सुधार हासिल गर्न नसकेको स्पष्ट पार्दै सरकारले शिक्षा सबैका लागि पहुँचयोग्य र समान बनाउन ल्याएको निशुल्क शिक्षा नीति राम्रो सोच र दीर्घकालीन परिवर्तन गर्ने क्षमता राख्छ, तर यसको व्यवहारिक पक्ष कमजोर हुँदा विद्यालयहरूमा शिक्षण–अधिगम प्रक्रियामा सुधार देखिन कठिन भइरहेको बताए ।

थारूले विद्यालयहरूमा शिक्षण सामग्रीको अभाव, योग्य जनशक्ति र आवश्यक स्रोतसाधनको कमी, तथा अनुगमनको कमजोरीका कारण नीति कागजमै सीमित बनेको बताउँदै शिक्षकको क्षमता अभिवृद्धि, विद्यार्थीमैत्री वातावरण र व्यवस्थापकीय सुधारमा सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । उनले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना त बढेको देखिए पनि सिकाइ उपलब्धि र ज्ञान–कौशल विकासमा भने पर्याप्त प्रगति नदेखिएको बताए । यसका लागि विद्यालय, अभिभावक, शिक्षक र स्थानीय सरकारबीच समन्वय र जिम्मेवारी बोध बलियो बनाउनुपर्छ भन्ने उनको धारणा छ ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले अभिभावकको भूमिकालाई बालबालिकाको समग्र विकाससँग जोड्दै उनीहरूले केवल ‘पढ’ भनेर दिएको दबाब मात्र पर्याप्त नहुने स्पष्ट गरे । उनले अभिभावकले आफूहरूकै जिम्मेवारी पूरा भयो भन्ने सोचेर विद्यालयमा मात्र निर्भर रहनुभन्दा घरमै बालबालिकाको अध्ययन, बानी–व्यवहार र मनोभावनात्मक अवस्थाप्रति नियमित ध्यान दिन आवश्यक रहेको बताए । विष्टले बालबालिका अध्ययनमा कमजोर हुनु, ध्यान केन्द्रित गर्न नसक्नु वा अनुशासनहीन हुनु अभिभावकको समय अभाव र अपर्याप्त मार्गद र्शनका कारण पनि हुने उल्लेख गर्दै, घरमा उनीहरूलाई उचित समय, सहयोग र सकारात्मक वातावरण प्रदान गर्न आग्रह गरे । उनले बालबालिकालाई केवल ज्ञान भरिने पात्रका रूपमा नभई सही अनुशासन, नैतिकता र आध्यात्मिक मूल्यसहित विकास गराउन अभिभावक, शिक्षक र समुदाय सबैले समान जिम्मेवारी लिनुपर्ने बताए ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति विवरण विद्यालयका प्रधानाध्यापक खेतुलाल पौडेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, संविधान सभा सदस्य रेश्मीराज नेपाली, विद्यालय पुर्व प्रअ दामोदर पाण्डे, अक्षयकोषदाता रमेशमान पुन, युवा अभियान्ता प्रकाश शाही, पुर्व शिक्षक डिलाराम पौडेल, अभिभावक जुना नेपाली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न अक्षयकोषको रकमबाट २७ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो । भने सोमबार विभिन्न अतिरिक्त क्रियाकलापका बिजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न साँस्कृतिक प्रस्तुती सँगै विद्यार्थीहरुले विज्ञान प्रदर्शनी समेत देखाएका थिए । शिक्षक अभिभावक संघका संयोजक लिलामणी पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक विष्णुप्रसाद पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे