लमहीमा नेपाली कम्युनिष्ट पार्टीकाे एकता सन्देश सभा : कांग्रेस–एमालेको अहंकार अझै हटेको छैन : प्रचण्ड
लमही १३ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितेर मात्रै केही नहुने बताएका छन्।
लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभालाई शनिबार लमहीमा सम्बोधन गर्दै उनले कांग्रेस–एमालेको एकतापछि बनेको दुई तिहाईको सरकारलाई लक्षित गर्दै भने, ‘चुनाव जितेर मात्रै केही हुँदो रहेनछ। चुनाव जितेर हुन्थ्यो भने त अस्तीसम्म कांग्रेस र एमालेको दुई तिहाई थियो नि त। के नाप्यो त्यो दुई तिहाईले, हेलिकप्टर चढेर भाग्नुपर्यो। दुई तिहाईले पनि केही गर्दाे रहेनछ।’ उनले जनताको एकता नै बलियो तागत भएको बताए। ‘जनताको एकताको तागत निर्माण गरेर प्रतिकृयावादी हस्तक्षेपकारीहरुका विरुद्ध लडाइँ लड्ने संकल्प गरेर मात्रै नेपाल र नेपालीको जित हुने वाला छ,’ उनले भने, ‘त्यही उद्देश्यको निम्ति यो एकता हो। यो एकता दुई चार वटा सित जितेर केही हुँदैन।’
कांग्रेस–एमालेको अहंकार र दम्भ अझै नहटेको उनले बताए। उनले भने, ‘मैले त्यतिबेला सदनको रोष्ट्रमबाट भनेको थिएँ। तपाईंहरुलाई दुई तिहाईको घमण्ड छ, जनता तपाईंहरुसँग रुष्ट भइसकेका छन्। तपाईंहरुलाई कुनै दिन जनताले यहाँबाट लखट्ने छन् भनेको थिएँ। नभन्दै त्यही भयो। मिस्टर केपी ओलीले आजभोलि प्रचण्डले हो यो सबै गराएको भन्दै गरेका छन्। त्यो उनीहरुको कुकर्मले गर्दा यस्तो भयो भन्ने चेतना अझै उनलाई आएको छैन। त्यो अहंकार र दम्भ अझै हटेको छैन।’

