दाङको राप्ती–८ भैसवा खोलामा पक्की पुल निर्माण कार्य सुरु



दाङको राप्ती–८ भैसवा खोलामा पक्की पुल निर्माण कार्य सुरु

सिसहनियाँ १० मंसिर । दाङको राप्ती गाउँपालिका–८ कहलुवास्थित भैसवा खोलामा पक्की पुल निर्माण कार्य सुरु गरिएको छ ।

संघीय सरकारको ३ करोड ७८ लाख ७२ हजार ७ सय ४४ रुपैयाँ लागतमा निर्माण हुने उक्त पुलले स्थानीयवासीले वर्षौंदेखि वर्षायाममा झेल्दै आएको आवतजावत सम्बन्धी समस्या अन्त्य गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार संघीय सरकारबाट बजेट विनियोजन भएसँगै निर्माण प्रक्रिया अघि बढाइएको हो। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, बुटवलमार्फत भएको टेन्डर प्रक्रियामा भिजन ईसान जेभी प्यूठानले निर्माण कार्यको जिम्मेवारी पाएको छ।

आयोजना कार्यालयका सब–इन्जिनियर अर्जुन सुवेदीका अनुसार पुल ३० मिटर लम्बाइ र १० मिटर चौडाइको हुनेछ। गत असारमै सम्झौता भइसकेको योजनालाई दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण व्यवसायी रेशम केसीले आगामी असारमै काम सक्ने दाबी गरेका छन् । भैसवा खोलामा पुल नहुँदा बर्खायाममा वडा नं.८ का तथा छिमेकी वडाका बासिन्दाहरुलाई आवतजावतमा निकै समस्यामा हुने गरेको थियो। वर्षा लागेपछि खोला तर्नुपर्ने जोखिमपूर्ण अवस्था दोहोरिने भएकाले यहाँ पक्की पुल निर्माणको आवश्यकता वर्षौंदेखि उठ्दै आएको थियो।

पुल निर्माण कार्य सुरु भएसँगै अब स्थानीयको समस्या दीर्घकालीन रुपमा समाधान भई सुरक्षित तथा सहज यातायात सुविधा पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे