राप्तीमा फोहोरमैला व्यवस्थापन नहुँदा दुर्गन्ध बढ्यो : स्थानीयहरु आन्दोलित



राप्तीमा फोहोरमैला व्यवस्थापन नहुँदा दुर्गन्ध बढ्यो : स्थानीयहरु आन्दोलित

भालुवाङ ८ मंसिर । दाङको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापन गर्न नसकेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् ।

गाउँपालिकाले फोहोरलाई मोहर बनाउने उद्देश्यका साथ वडा नं. २ पूण्यपुरमा सञ्चालन गरेको सरसफाई व्यवस्थापन तथा स्रोत केन्द्रमा फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्ध बढेपछि राप्ती गाउँपालिका –२ कटाहाका स्थानीयहरुले फोहोर संकलन केन्द्रमा ताला लगाएर विरोध जनाएका छन् ।
वडाबासीहरूले अव्यवस्थित फोहोर संकलनका कारण आफूहरूले दुर्घन्धको सामना गर्नुपरेको बताएका छन् । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहितका जनप्रतिनिधि र कर्मचारीहरूको हर्कतको विरोध जनाउँदै आफूहरु आन्दोलित हुनु परेको स्थानीयहरुले बताएका छन् । कटाहा गाउँका प्रधान तथा वन उपभोक्ता समितिका अध्यक्ष अशोक चौधरीले अव्यवस्थित फोहोर संकलनले गर्दा आफूहरू निकै समस्या र तनाबमा परेको बताएका छन् । उनले भने, ‘फोहोरको समस्याले हाम्रो स्वास्थ्यमा ठूलो समस्या हुन थालेको छ । व्यवस्थित रुपमा फोहोर संकलन गरेर व्यवस्थापन गर्ने भनेर हामीलाई हस्ताक्षर गराए । अहिले अव्यवस्थित भएको छ । यसबाट कटाहा गाउँका हामी निकै प्रभावित बनेका छौँ ।’

राप्ती गाउँपालिका वडा नं. २ कटाहा स्थित फोहोर सङ्कलन केन्द्रमा स्थानीयहरू बिहानै जम्मा भएर जनप्रतिनिधिहरू विरुद्ध नाराबाजी लगाएका छन् । स्थानीयका अनुसार फोहोर सङ्कलन केन्द्र अव्यवस्थित रूपमा सञ्चालन भइरहेको र त्यस कारण दुर्गन्ध बढ्दै गएर आसपासका बस्तीमा स्वास्थ्य समस्या निम्त्याउने अवस्था बनेको स्थानीय बुद्धिराम चौधरीले बताएका छन् । फोहोर संकलन केन्द्र वरपर रहेका खयर, सिमल, सिसौ लगायतका बोटबिरुवा उम्रिएका स्थानहरूमा राप्ती गाउँपालिकाले अतिक्रमण गर्न लागेको आरोप समेत स्थानीयको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीति अनुसार राप्ती गाउँपालिका र इको फ्यामिली प्राइभेट लिमिटेड हेटौँडाको सहकार्यमा टायल उत्पादन समेत सुरु भएको थियो । प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलक लगायत सामग्री उत्पादन गरिए पनि पछिल्लो समय फोहोर व्यवस्थापन भन्दा फोहोरको चाङ बढेर दुर्गन्ध बढे पछि स्थानीयहरु आन्दोलित हुनु परेको हो । २०७९ भदौमा भएको सम्झौता बमोजिम गाउँपालिकाले फोहोर संकलन गरेर स्रोत केन्द्रसम्म पु¥याइदिने र बाँकी फोहोर वर्गीकरण देखि प्लास्टिक सामग्री र जैविक मल उत्पादनको काम उक्त कम्पनीले गर्ने सम्झौता भएपनि सो अनुसारको काम हुन नसकेको राप्ती गाउँपालिका सरसफाई व्यवस्थापन फोकल पर्सन गिता चौधरीले बताइन् ।

फोहोरलाई शुन्यमा झार्ने गरि १५ वर्षका लागि सम्झौता गरिए पनि सम्झौता अनुसार कम्पनीले काम गर्न नसकेपछि टेण्डर तथा सम्झौता रद्द गरेर नयाँ प्रकृयाबाट जाने गरि मोटामोटी तयार भएको फोकल पर्सन चौधरीले बताइन् । स्थानीयको विरोध पछि पालिकाको ध्यानाकर्षण भएको फोकल पर्सन चौधरीले बताइन् । स्वच्छ र हरित पालिका निर्माण गर्ने अभियान अन्तर्गत फोहोरबाट प्लास्टिक सामग्री उत्पादनका लागि गाउँपालिकाले रु. दुई करोड २० लाखभन्दा बढी लगानी गरिसकेको र उक्त रकमबाट जग्गा तारबार तथा स्रोत केन्द्रका लागि दुईवटा घर निर्माण गरिएको छ । कम्पनीले प्रयोग नहुने फोहोरलाई कबाडमा बिक्री गर्ने र त्यसबाट गाउँपालिकाले निकासी कर लिने गरी सहमति भएको थियो । नौ वटा वडा रहेको राप्ती गाउँपालिकाबाट सुरुमा दैनिक ४ ट्याक्टर फोहोर संकलन हुँदै आएकोमा अहिले दैनिक ८ ट्याक्टर फोहोर संकलन हुँदै आएको छ । फोहोर संकलन देखि वर्गीकरण सम्मको काम गर्न नियमित ८ जनाले रोजगारी पाएका छन् । भने कामको चाप अनुसार केहि कामदारलाई दैनिक ज्यालादारीमा काममा लगाउने गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे