कपिलवस्तु व्यापार मेलामा जुवाजन्य खेल सञ्चालन, सराेकारवाला निकाय मौन



कपिलवस्तु व्यापार मेलामा जुवाजन्य खेल सञ्चालन, सराेकारवाला निकाय मौन

कपिलवस्तु  ८ मंसिर । कपिलबस्तु जिल्लामा पहिलोपटक आयोजना भएको प्रथम कपिलवस्तु व्यापार मेला जुवाजन्य खेलहरू चलाइएकाे आरोपले विवादमा परेको छ। बाणगंगा नगरपालिका अन्तर्गत मायादेवी रंगशालामा उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा मंसिर ५ गतेदेखि १७ गतेसम्म सञ्चालन भइरहेको मेलामा विभिन्न किसिमका जुवाजन्य खेल खेलाइएको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार मेलाभित्र खुला रूपमा पैसामा आधारित भाग्य परीक्षणका खेल, तथा बाल–बालिकालाई लोभ्याउने स्वरूपका चिट्ठा खेलहरू सञ्चालन भइरहेको पाइए पनि निगरानीका लागि खटिने सम्बन्धित निकायले बेवास्ता गरेको देखिएको छ। मेलामा भइरहेको यस्ता गतिविधिबारे सरोकारवाला निकायलाई जानकारी गराउँदा पनि कुनै प्रभावकारी पहल नदेखिएको स्थानीयको गुनासो छ।

“जुवाजन्य खेल खुलेआम भएको सबैले देखिरहेका छन्, तर रोक्नुपर्ने अधिकारीहरू मौन बसेका छन्,” एक स्थानीयले बताए। उद्योग व्यापार संघको नाममा आयोजना गरिएको मेलामा कानूनविरुद्धका गतिविधि सञ्चालन हुनु र सम्बन्धित निकायले समयमा नियन्त्रण नलिनु, मेलाको उद्देश्य र व्यवस्थापनबारे प्रश्न उठेको छ। स्थानीय बासिन्दाले मेलामा परिवारसहित भ्रमण गर्न आउने जनता तथा बाल–बालिकाको लागि यस्तो जुवाजन्य गतिविधि अपाच्य भएको भन्दै तत्काल रोकथाम र कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे