भालुवाङमा सञ्चालित सिकाई आपूरण तथा द्रुत सिकाई उपलब्धिमुलक भएको निष्कर्ष



भालुवाङमा सञ्चालित सिकाई आपूरण तथा द्रुत सिकाई उपलब्धिमुलक भएको निष्कर्ष

भालुवाङ २७ कार्तिक । दाङको राप्ती गाउँपालिका–१ भालुवाङमा शिक्षा समुहका लागि सञ्चालित सिकाई आपूरण तथा द्रुत सिकाई सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

युनिसेफ र नेपाल शिक्षा समुहको सहयोग तथा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित कार्यक्रम सम्पन्न भएको हो । कोभिड–१९ महामारी तथा अन्य विविध कारणले शिक्षण सिकाइमा भएको क्षतिको परिपूर्ति गर्न सामाजिक विकास मन्त्रालयले शिक्षा समुहलाई प्रशिक्षण दिएको हो । विभिन्न कारणले क्षति भएको शिक्षण सिकाइलाई परिपूर्ति गर्न प्रशिक्षण कार्यक्रमले सार्थकता पाएको बताइएको छ । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षण सिकाई उपलब्धिमुलक भएको बताएका छन् । साथै सिकाइमा नवीनता र व्यवहारिकता जोड्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले द्रुत सिकाइका नयाँ प्रविधि र सिकाइ आपूरणको प्रभावकारी रणनीति अपनाउँदा विद्यार्थीको शैक्षिक उपलब्धि उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई तालिम पूर्व परिक्षा, सिकाई क्षतिको परिचय, विश्व परिवेश र नेपालको सन्दर्भमा सिकाई क्षतिको अवस्था, रियल प्लान अवधारणा र परिचय, कार्यान्वयन प्रक्रिया, नीतिगत पक्ष र नेपालको अभ्यास, सहजीकरण विधि र प्रक्रिया, कार्यान्वयनका लागि क्षमता विकास, उपचारात्मक शिक्षण र द्रुत सिकाई लगायतको विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा सहभागीको तर्फबाट शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरी लगायतका वक्ताहरुले बोलेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा समुह अन्तरगत शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा अधिकृत, शिक्षक, अपाङग, पत्रकार र गैर सरकारी महासंघका प्रमुख तथा प्रतिनिधि, रेडक्रस तथा विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधि गरि २५ जनाको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रमको सहजीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रकाश खरेल र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालकी ओमकला खनालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बेगम केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे