भन्सार छल्दै ल्याइएको २८ बोरा चिनी दाङकाे भालुवाङबाट बरामद
भालुवाङ २४ कार्तिक । भन्सार छलि ल्याइएको २८ बोरा चिनी प्रहरीले बरामद गरेकाे छ ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले दाङकाे भालुवाङबाट साे चिनी बरामद गरेकाे हाे । राप्ती गाउँपालिका १ भालुवाङ पुलचोकस्थित पूर्व पश्चिम राजमार्गमा सोमबार प्रहरीले चेकिङ अभियान चलाउँदै अवैध चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । कपिलवस्तुबाट प्युठानतर्फ गइरहेको लु.प्र.०१–००१ ख ००५८ नम्बरको मिनी ट्रकलाई रोकेर जाँच गरेको थियो। जाँचका क्रममा भारतबाट अवैध रूपले प्रवेश गराइएको २८ बोरा चिनी रहेको छ।
प्रत्येक बोरा ५० किलोग्राम तौलको थियो, र प्रति किलोग्राम चिनीको मूल्य १०० रुपैयाँको दरले कुल मूल्य १ लाख ४० हजार रुपैयाँ बराबर पर्ने बताइएको छ। बरामद गरिएको चिनीको अनुमानित बजार मूल्य भने करिब २५ लाख रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ। उक्त मिनी ट्रक र चिनी सहित कुल २६ लाख ४० हजार रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिइएको छ। उक्त सामग्रीलाई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाइको प्रहरीले जनाएको छ ।

