लुम्बिनी प्रदेशस्तरीय बृहत यौनिकता शिक्षा प्राविधिक कार्य समूहकाे बैठक भालुवाङमा सम्पन्न
भालुवाङ १३ कार्तिक । लुम्बिनी प्रदेशस्तरीय बृहत यौनिकता शिक्षा प्राविधिक कार्य समूहकाे बैठक आज बिहिबार दाङकाे भालुवाङमा सम्पन्न भएकाे छ । नेपाल परिवार नियोजन संघ दाङ र संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (UNFPA) को संयुक्त आयोजनामा उक्त बैठक सम्पन्न भएको हाे ।
लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायणप्रसाद पोख्रेलले अध्यक्षतामा भएकाे बैठकमा लुम्बिनी प्रदेशमा सञ्चालन भइरहेका यौनिकता शिक्षा कार्यक्रमहरूको प्रगति समीक्षा गर्ने, चुनौतीहरू पहिचान गर्ने र आगामी दिनमा कार्यक्रमलाई अझै प्रभावकारी र दिगो रूपमा कार्यान्वयन गर्न साझा योजना तय गरेकाे छ ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनाल र युएनएफपीए लुम्बिनी प्रदेश संयोजक राम थापाले प्रदेशका विभिन्न जिल्लामा कार्यान्वयन भइरहेका याेनिकता शिक्षाकाे अवस्था, डिजिटल मिडियाले युवायुवतीहरूमा पारेकाे नकरात्मक प्रभाव, सञ्चालित कार्यक्रमहरूको अवस्था, उपलब्धि र सिकाइका विषयमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए । यस्तै उनले विद्यालय, समुदाय र स्वास्थ्य संस्थामार्फत सञ्चालित कार्यक्रमहरूले किशोर–किशोरी र युवाहरू माझ यौनिकता, लैङ्गिक समानता, प्रजनन स्वास्थ्य, आत्मविश्वास र निर्णय क्षमतामा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्याइरहेको बताए ।
साे अवसरमा सहभागी वक्ताहरूले बृहत यौनिकता शिक्षालाई विद्यालयको पाठ्यक्रममा नीतिगत रूपमा समावेश गर्नुपर्ने, युवा मैत्री स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुपर्ने र स्थानीय तहमा सम्बन्धित निकाय बीच प्रभावकारी समन्वय गर्नुपर्ने विषयमा जोड दिएका थिए । उनीहरूले यौनिकता शिक्षा प्राविधिक कार्यक्रमले युवाहरूमा वैज्ञानिक, व्यवहारिक र अधिकारआधारित ज्ञान विस्तार गरेर उनीहरूलाई जिम्मेवार र सचेत नागरिकका रूपमा विकास गर्न मद्दत गरिरहेको तथा विद्यालय र समुदायस्तरमा सञ्चालन हुने प्रशिक्षण, परामर्श एवम् संवाद कार्यक्रमहरूले बालविवाह, लिङ्गिय हिंसा र गलत यौन व्यवहार घटाउने दिशामा उल्लेखनीय योगदान पुर्याएको पनि बैठकमा प्रस्तुत गरिएको थियो ।

बैठकमा स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरी, वरिष्ठ नर्सिङ प्रशासक श्रीमती ईश्वरी केसी, प्लान इन्टरनेशनलका सञ्जय शर्मा, आईपीएएस नेपालका विष्णु देवकोटा, किडस कपिलवस्तुका कार्यकारी निर्देशक कृष्ण सुबेदी, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरी र राप्ती गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण रावत, साेही गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक सहित लुम्बिनी प्रदेशका शिक्षक, युवा, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा प्रजनन स्वास्थ्य क्षेत्रमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकले बृहत् याेनिकता प्राबिधिक कार्यक्रमको प्रभावकारिता र दिगो कार्यान्वयन सुनिश्चित गर्नका लागि नीतिगत सुझावहरू तयार गर्ने, स्थानीय तहसँग सहकार्य सुदृढ गर्ने, र विद्यालय तथा स्वास्थ्य संस्थामा बृहत् याेनिकता प्राबिधिक कार्यक्रमको दायरा विस्तार गर्ने निर्णय गर्दै सम्पन्न भएको परिवार नियाेजन संघ दाङका शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिए । उनका अनुसार, बृहत् याेनिकता प्राबिधिक कार्यक्रमले युवामा ज्ञान मात्र होइन, जिम्मेवार सोच, आत्मविश्वास र सुरक्षित व्यवहारको संस्कार विकास गरिरहेको बताए । संघका दाङ शाखा प्रबन्धक खनालले यस्ता कार्यक्रमहरूलाई प्रदेश र स्थानीय तहको नीतिगत प्राथमिकतामा राख्न सकेमा किशोर तथा युवाहरूको जीवनस्तर र स्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउन सकिने विश्वास व्यक्त गरेका छन् ।

