नेपालको दोस्रो लामो पुल सडकबत्तीले झलमल्ल उज्यालो : झण्डाले झनै सजियो पुल
भालुवाङ १३ कार्तिक । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका दाङ देउखुरीको सिसहनियाँ–महदेवा जोड्ने नेपालको दोस्रो लामो पुलमा सौर्य सडक बत्ती जडान गरिएको छ ।
सुन्दर राजधानी कार्यक्रम अन्तरगत लुम्बिनी प्रदेश उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय अन्तरगत प्रदेश उर्जा कार्यालयको १२ लाख ९४ हजार २ सय २२ रुपैयाँको लागतमा १० वटा पोलमा ३५ वटा सौर्य सडक बत्ती जडान गरिएको हो । सडक बत्ती जडान भएपछि पुल झलमल्ल उज्यालो भएको छ भने पुलमा फहराएको नेपालको झण्डाले पुल झनै झकिझकाउ देखिएको छ । राप्ती गाउँपालिकाका चोपलाल सुवेदी र शेरबहादुर केसीको पहलमा राप्ती र गढवा युवाहरू मिलेर नेपालको झण्डा फहराएका हुन् ।
यस्तै राजधानी प्रवेशद्वारमा पनि ३ लाख ६९ हजार ७ सय ७८ रुपैयाँको लगानीमा १० वटा पोलमा सौर्यबत्ती जडान गरिएको प्रदेश उर्जा कार्यालयका प्रमुख जेबी थापाले जानकारी दिएका छन् । सुन्दर र उज्यालो राजधानी सँगै रातीको समयमा हुने चोरी डकैतीबाट समेत सुरक्षित राख्न सडक बत्ती जडान गरिएको बताइएको छ ।

