सर्वहित सहकारीको अधिवेशन सम्पन्न : अध्यक्षमा बालाराम कुमाल निर्विरोध निर्वाचित
भालुवाङ १ कार्तिक । दाङको राप्ती गाउँपालिका-४ माैरीघाटमा रहेको सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशन उद्घाटन समारोह शनिबार माैरीघाटमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जागेन्द्र चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चाैधरीको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष चाैधरीले सहकारी संस्थामा पछिल्लो समय देखिएको बेथिति तथा निष्कृयताका विषयमा पालिका स्तरबाट नियमन भइरहेको बताए । वडा अध्यक्ष चाैधरीले राप्तीमा पनि केही सहकारीहरू निष्कृय रहेको र केहीमा समस्या देखिएको बताउँदै त्यसको नियमनका लागि पालिकाले काम गरिरहेको बताए । साथै उनले सहकारी संस्थाका महिला दिदीबहिनीहरूलाई नेतृत्व लिन आट र सहास लिन सक्नुपर्ने र महिलै महिलाले सहकारी सञ्चालन गर्न सक्नु पर्ने सुझाव समेत दिए ।

सभामा वार्षिक प्रगति प्रतिवेदन सचिव बालाराम कुमाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष खेमादेवी चाैधरीले प्रस्तुत गरेका थिए ।
संस्थाकी उपाध्यक्ष निर्मला चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद पोख्रेल, सहकारी सञ्जाल राप्तीका अध्यक्ष ताराप्रसाद भुसाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य ओमप्रकाश गुप्ता, संस्थापक अध्यक्ष दयाराम चाैधरी, माैरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष बेगमबहादुर बस्नेत, समाजसेवी तथा बुद्धिजीवीहरू बुद्विप्रकाश चाैधरी, शंकर गाैतम र पत्थरगढवा सेवा केन्द्रका रामप्रताप चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सक्रिय सञ्चालक, कर्मचारी, जेष्ठ सदस्य, असल बचतकर्ता, असल ऋणी, असल बचतकर्ता, एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, अपांगता भएका सदस्यहरूलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । साथै निर्वतमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान तथा बिदाई गरिएको थियोे । कार्यक्रमको सञ्चालन बाल सदस्य अर्चना चाैधरीले गरेकी थिइन् ।
यसै बीच शनिबारनै भएको अधिवेशनबाट अध्यक्षमा बालाराम कुमाल सहित पुरै ९ सदस्यीय पुरै कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । जस अनुसार उपाध्यक्षमा निर्मला चाैधरी, सचिवमा शरद चाैधरी, कोषाध्यक्षमा खेमादेवी चाैधरी निर्विरोध निर्वाचित भए । त्यस्तै सदस्यहरूमा विष्णु चुहान, भुपेन्द्र पुन, गिता शर्मा, बुद्विमान चाैधरी र खगेन्द्र चाैधरी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक मंगलप्रसाद चाैधरीले जानकारी दिएका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णबहादुर कार्की र सदस्यहरूमा भरतप्रसाद चाैधरी, मेनुका गिरी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक चाैधरीले बताएका छन् ।


