सुरक्षित र सतर्क रहन प्रधानमन्त्री कार्कीको आग्रह



सुरक्षित र सतर्क रहन प्रधानमन्त्री कार्कीको आग्रह

काठमाण्डौ १८ असाेज । प्रधानमन्त्री सुशीला कार्कीले बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको भन्दै सुरक्षित र सतर्क रहन नागरिकलाई आग्रह गरेकी छिन् । विपतको अवस्थामा सरकार साथ रहेको भन्दै नागरिकलाई सुरक्षित र सावधानी हुन उनले आग्रह गरेकी हुन् ।

बाढीपहिरो बढ्दै गएपछि देशवासीको नाममा सम्बोधन गर्दै उहाँले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताएकी छिन् । अप्ठेरोमा परेको अवस्थामा तत्काल उद्धार गर्न सरकार तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिइन् । ‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आंकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस् । तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्,’ प्रधानमन्त्रीले भिडियो सन्देशमा भनेकी छिन्, ‘हामी तपाईंहरूको चिन्ता र कठिनाईलाई बुझ्छौं । म प्रस्ट पार्न चाहन्छु, तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन् ।’

सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको पनि उनले बताएकी छिन् । महत्त्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको पनि उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे