कपिलवस्तुको बनकसबासामा बस दुर्घटना : ३६ जना घाइते
दाङ १८ असोज । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब ५:३० बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटा–स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
दुर्घटनाको कारण बस सडक छेउमा पल्टिनु भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

