सिसहनियाँमा सञ्चालित म्युजिक थेरापी कार्यक्रम सम्पन्न
भालुवाङ १२ असोज । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा सञ्चालित म्युजिक थेरापी कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
राप्ती फिजियोथेरापी एण्ड रिह्याविलिटेशन सेन्टर सिसहनियाँ र ओम टेण्ड हाउसको प्राविधिक सहयोगमा राप्ती प्रेस मञ्चले आयोजना गरेको १२ दिने म्युजिक थेरापी कार्यक्रम सम्पन्न भएको हो । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले म्युजिक थेरापी स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण भएकोले यसलाई निरन्तरता दिन आवश्यक रहेको बताएका थिए ।
साथै उनीहरुले संगीतका माध्यमबाट पनि मानिस स्वस्थ हुने बताएका थिए । सो अवसरमा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद अधिकारी, कालापानी सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष शोभाखर आचार्य, राप्ती फिजियोथेरापी एण्ड रिह्याविलिटेशन सेन्टरकी सञ्चालक तथा कार्यक्रमकी प्रशिक्षक शान्ता खनाल, सहभागी भिमा आचार्य, दिपा पन्थी, तारा कार्की लगायतका वक्ताहरुले बोलेका थिए । मञ्चका सदस्य मोतीराम भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

