दाङका दश स्थानिय तहका ४० वडा कार्यालय भाडाको भवनमा



दाङका दश स्थानिय तहका ४० वडा कार्यालय भाडाको भवनमा

दाङ २१ पुसमुलुकमा स्थानीय तह आएको तेस्रो बर्ष पूरा भएर चौथो बर्षमा प्रवेश गरेको छ । स्थानीय तह आईसकेपछि जनताहरुले सहज सेवा पाउने तथा विकास निर्माणले तीव्रता पाउने अपेक्षा थियो । स्थानीय तह आईसकेपछि विकास निर्माणले पनि गती लिएको अवस्था छ । तर जनताहरुलाई सहज सेवा दिने स्थानीय तहका वडा कार्यालयहरु भाडाको घरमा बसेर सेवा दिन बाध्य छन् । दाङका दश वटा स्थानीय तहका १०० वटा वडा कार्यालय मध्य ४० वटा वडा कार्यालय अझै पनि भाडाको भवनबाट सेवा दिदै आएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेका १९ वडामध्य ४ वटा वडा भाडाको भवनमा रहेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । १२ नं। वडा कार्यालकाका लागि निर्माण भएको भवनमा हाल मेट्रो कलेज सञ्चालनमा आएको छ । हाल मेट्रो कलेजको भवन निर्माणाधिन अवस्थामा रहेकोले निर्माण कार्य पूरा भए आफ्नै भवनमा सर्ने उनको भनाई छ । भाडामा रहेको भवनमध्य अरु २ वटा वडाको भवन यही आर्थिक बर्षमा सम्पन्न हुने गरी काम भईरहेको छ भने १९ नंं। वडाकार्यालयको भवन अर्को आर्थिक बर्षमा सम्पन्न हुने प्रमुख पाण्डेले जानकारी दिए ।

घोराही उपमहानगरपालिकामा ३ वटा वडा कार्यालय भाडामा छन् । सार्वजनिक जग्गा खोजेर भवन निर्माण गर्ने भएकाले समयमा नै वडाको आफ्नै भवन बन्न नसकेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । भवन बन्न बाँकी वडा नं। ३, ११ र १३ को भवन निर्माणको लागि ठेक्का प्रक्रिया सुरु भएको चौधरीको भनाई छ ।

गढवा गाउँपालिकाका ६ वटा वडा कार्यालय भाडाको भवनबाट सेवा सञ्चालन गर्दै आएका छन् । भाडामा भएका वडा कार्यालयको भवन निर्माण भईरहेको र यही आर्थिक बर्षमा सम्पन्न गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष सहजराम अहिरले जानकारी दिए । राजपुर गाउँपालिका ५ वटा वडा कार्यालय भाडाको भवनमा संचालन भएको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिए ।

लमही नगरपालिका ९ वटा वडामध्य ३ आफ्नै भवनबाट सेवा दिएका छन् । भाडामा भएका वडाहरुमध्य ३ भाडामा छन् भने तीनवटा वडाको भवन आउँदो आर्थिक बर्षमा बनाउने तयारी रहेको प्रमुख कुलप्रसाद केसीले जानकारी दिए । त्यसैगरी राप्ती गाउँपालिका ९ वटा वडा कार्यालय दुईवटा वडा कार्यालय आफ्नै भवनमा छन् भने सात वटा वडा भाडामा रहेका छन् । भाडामा रहेकामध्य वडा नं। ४ र ९ वडा कार्यालय निर्माणको काम अन्तिम चरणमा रहेको प्रमुख नुमानन्द सुवेदीले जानकारी दिए । अन्य वडाको काम कही जग्गा व्यवस्थापन मिलाउँदा समस्या भयो भने कुनै वडा विकट भएका कारण सामान ढुवानी गर्न समस्या भएकाले वडा कार्यालय समयमा निर्माण हुन नसकेको सुवेदीले बताए ।

त्यस्तै बंगलाचुली गाउँपालिका ८ वटा वडा कार्यालयमध्य ७ वटा आफ्नै भवनमा छन् भने १ वटा भाडामा रहेको छ । एउटा वडा कार्यालय भौगोलीक समस्याका कारण बन्न नसकेको गाउँपालिका प्रमुख भक्तबहादुर वलीले बताए । एउटा भुगोलमा वडाकार्यालय बनाउँदा अर्को भुगोलको जनतालाई समस्या हुने भएकाले अन्यौलमा छ उनले भने । दंगीशरण गाउँपालिकाको वडा नं। ६ को वडा कार्यालय मात्रै आफ्नै भवनमा छ भने बाँकी वडाहरु भाडामा रहेको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए । अहिले भाडामा भएका वडा कार्यालयको टेण्डर प्रक्रिया भईसकेकाले यही आर्थिक बर्षमा काम सम्पन्न हुने चौधरीले बताए ।

शान्तिनगर गाउँपालिका ७ वटा वडा कार्यालय मध्य ६ वटा आफ्नै भवनमा छन भने वडा नं। ३ को वडा कार्यालय गाउँपालिकाको भवनमा रहेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए । बबई गाउँपालिका७ वटा वडा कार्यालय ५ वटा वडा आफ्नै भवनमा छन् भने वडा नं। १, ३ को वडा कार्यालयको काम सम्पन्न भईसकेको छ यही महिनामा वडा कार्यालय सर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए ।

भाडाको भवनबाट सेवा प्रवाह गर्दा धेरै समस्या हुने गरेको लमही नगरपालिका वडा नं। ७ का अध्यक्ष मोहन गिरीले जानकारी दिए । कोठा अभावका कारण एउटै कोठामा सचिव र प्राविधिकलाई राखेको गिरीले बताए । उनकाअनुसार जग्गा चलानी कम्प्युटर अप्रेटर तथा अन्य कर्मचारीहरुले एउटै कोठामा बसेर काम गर्दै आएको बताए । हामीसंग कुनै कार्यक्रम गर्नको लागि हलकोठा छैन, बाहिर कार्यक्रम गर्नको लागि खुल्ला चौर छैन धेरै समस्याको बीचमा काम चलाउनु परेको छ उनले भने ।

वडाले बार्षिक रुपमा करसहित एकलाख रुपैयाँ कोठाभाडा तिर्ने गरेको उनको भनाई छ । त्यस्तै गढवा गाउँपालिका वडा नं। ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले भाडामा वडा कार्यालय भएका कारण कोरोना कहरको बेलामा सेवा दिन धेरै नै कठिन रहेको बताए । कार्यालयमा सेवा लिन आएका सेवाग्राहीको लागि शौचालयको समस्यादेखि कोरोना जोखिमको समयमा मान्छेहरुको भिडभाड भयो भनेर घरमालिकहरु कराउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे