ज्योति आधारभूत विद्यालयमा शिक्षक स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न



ज्योति आधारभूत विद्यालयमा शिक्षक स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

देउखुरी १२ असार । दाङको राजपुर गाउँपालिका वडा नम्बर- १, गुरुङखोला स्थित ज्योति आधारभूत विद्यालयमा बिहीबार शिक्षक स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ।

राजपुर गाउँपालिका गाउँकार्यपालिकाद्वारा भर्खरै सम्पन्न शिक्षक दरबन्दी मिलानको जेठ २१ गतेको निर्णय पश्चात विद्यालयमा यो हेरफेर भएको हो। विगत लामो समयदेखि विद्यालयको शैक्षिक उन्नयन र प्रगतिका लागि अहोरात्र खटिएकी ऊर्जाशील शिक्षिका साधना शाहलाई एक औपचारिक कार्यक्रमका बीच बिदाई गरिएको छ। सोही अवसरमा नव-आगन्तुक शिक्षक सकलराम चौधरीलाई विद्यालय परिवारको तर्फबाट न्यानो स्वागत समेत गरिएको थियो ।
​​गुणस्तरीय शिक्षाका लागि आफ्नो महत्वपूर्ण समय अर्पण गर्नुभएकी शिक्षिका साधना साहको बिदाईको क्षण अत्यन्तै मर्माहत र भावुक बनेको थियो। लामो समयको आत्मीय सम्बन्ध र सहकार्यलाई स्मरण गर्दै बिदाई हुने क्रममा शिक्षिका साह निकै भावुक देखिएका थिए । उनको अमूल्य योगदान र निष्ठाको उच्च कदर गर्दै विद्यालय प्रशासनको तर्फबाट ‘कदर पत्र’ प्रदान गरिएको थियो भने आदर स्वरूप ‘दोसल्ला’ ओढाएर बिदाई एवं सम्मान गरिएको थियो। यसैगरी, सहकर्मी शिक्षक स्टाफहरूको तर्फबाट मायाको चिनो प्रदान गर्दै उनको आगामी शैक्षिक यात्राको सफलताको कामना गरिएको थियो।
​​

प्रधानाध्यापक दिलबहादुर शाहीको अध्यक्षता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर चलाउनेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
​कार्यक्रमका सहभागी अतिथि एवं सहभागीहरूलाई शिक्षिका बालिका न्यौपानेले आत्मीय शब्दहरू सहित ‘स्वागत मन्तव्य’ मार्फत स्वागत गरेका थिए । कार्यक्रममा ठूलो संख्यामा शिक्षाप्रेमी, अभिभावक, उत्सुक विद्यार्थी तथा सहकर्मी शिक्षक-शिक्षिकाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। ​उपस्थित सम्पूर्ण महानुभावहरूले बिदाई भई जान लाग्नु भएकी शिक्षिका शाहको सुखद एवं उज्ज्वल भविष्यको कामना गर्नुका साथै सरुवा भइ आउनु भएका शिक्षक चौधरीलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको थियो । सद्भाव र आत्मीयताले भरिएको उक्त सम्पूर्ण विशेष कार्यक्रमको कुशल सञ्चालन शिक्षक प्रकाश बुढाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे