भालुवाङमा श्रद्धाञ्जलीसभा तथा दीप प्रज्वलन : तीनकुने चोकलाई ‘जेनजी चोक’ नामाकरण



भालुवाङमा श्रद्धाञ्जलीसभा तथा दीप प्रज्वलन : तीनकुने चोकलाई ‘जेनजी चोक’ नामाकरण

भालुवाङ २९ भदौ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ स्थित तीनकुने चोकमा आइतवार जेनजी युवा पुस्ताले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा युवा तथा समाजका विभिन्न वर्गका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरेका थिए । साथै आन्दोलनका क्रममा घाइते भएका युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको योगदानलाई समेत स्मरण गरेका थिए । श्रद्धाञ्जली कार्यक्रमसँगै युवाहरूले जेनजी आन्दोलनलाई सामाजिक न्याय, समानता र परिवर्तनको संघर्षको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

यसअघि कार्यक्रममा सहभागी युवाहरूले तीनकुने चोक वरपर सरसफाई समेत गरेका थिए । सरसफाई मार्फत सामाजिक सचेतना अभिवृद्धि गर्ने र समाजमा स्वच्छता र सकारात्मक सन्देश फैलाउने उद्देश्य रहेको छ । श्रद्धाञ्जली कार्यक्रमकै अवसरमा तीनकुने चोकलाई औपचारिक रूपमा “जेनजी चोक” नामाकरण गरिएको छ । युवाहरूले यो नामाकरण नयाँ पुस्ताको पहिचान र संघर्षको प्रतीकका रूपमा रहने बताएका छन् । उनीहरूका अनुसार “जेनजी चोक” केवल भौगोलिक स्थानको नाम मात्र नभई नयाँ पुस्ताले बोकेको सपना, आस्था र आन्दोलनको प्रतीक हो । स्थानिय बासिन्दाले पनि नामाकरणलाई स्वागत गर्दै यसले भालुवाङ मात्र नभई सम्पूर्ण क्षेत्रको गौरव बढाउने विश्वास लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे