दाङमा निषेधाज्ञा हटाएर फेरि कर्फ्यु
दाङ २७ भदाै । दाङमा बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म निषेधाज्ञा जारी भएकोमा अहिले बेलुका ५ बजे देखि पुन कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सुचना जारी गर्दै भोली बिहान ५ बजे सम्मका लागि कर्फ्यु जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार जिल्लाको विभिन्न स्थानमा विरोध प्रदर्शन, जुलुस भई त्यस्तो प्रदर्शन जुलुस भिड अनियन्त्रित भई हिंसात्मक ध्वंसात्मक प्रवृत्ति लिई सार्वजनिक सम्पत्ति, सरकारी कार्यालय र व्यक्तिको सम्पत्ति तोडफोड र आगजनी हुन गएको र पूनः त्यस्ता घटना हुन सक्ने संभावना रहेकाकोले कर्फ्यु लगाउन परेको बताए । उनले कर्फ्युको समयमा तोकिएको सीमा भित्र आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाईने बताए ।
जिल्लामा राप्ती गाउँपालिकास्थित प्रदेश सभा, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्र र भालुवाङमा क्षेत्रमा गोपीनाला, पूर्वमा भालुवाङ पुल तोकिएको छ । त्यसैगरी घोराही उपमहानगरपालिका क्षेत्रमा झिगौरा चोक, दक्षिणमा प्रहरी वोर्डिङ स्कूल देखि गोरखा वोर्डिङ स्कूल नजीकको कटुवा खोला पुल, पूर्वमा मितेरी हस्पिटल देखि रझेना स्कूलसम्म र उत्तरमा फुर्सेकाली, ढोरेनी स्कूल देखि सेवार खोला पुलसम्म तोकिएको छ ।
तुलसीपुरमा पूर्व–हात्तीखौवा, पश्चिम– कृष्ण मन्दिर, उत्तर आँखा अस्पताल र दक्षिण एयरपोर्टमा नेपाली सेना तैनाथ गरिएको छ । जहाँबाट प्रवेश गर्न निषेध गरिएको छ । त्यस्तै लमहीमा पूर्वमा– अर्नवा, पश्चिममा अर्जुन खोला पुल र दक्षिणमा कोलही पुलसम्म तोकिएको छ ।

