जिल्ला अदालत र उच्च अदालत तुलसीपुरमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित
दाङ २५ भदौ । दाङमा जिल्ला अदालत र उच्च अदालत तुलसीपुरले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।
आगजनीका कारण दुवै अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
जेनजी युवाको प्रदर्शनका क्रममा मंगलबार ती दुवै अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ । जिल्ला अदालत दाङका श्रेस्तेदार भुपाल भण्डारीबाट आज बिहान जारी सूचनामा लेखिएको छ, ‘मंगलबार भएको तोडफोड तथा आगजनीका क्रममा पूर्ण रुपमा क्षती भई कार्य सञ्चालन हुन नसक्ने भएकोले आज देखि आर्को सुचना नभए सम्मका लागि मुद्दाहरुको सुनुवाइ तथा सम्पूर्ण कार्यहरुस्थगित गरिएको छ ।
त्यस्तै उच्च अदालत तुलसीपुरका शाखा अधिकृत मधुसुदन पन्थीले पनि मंगलबार भएको आगजनी तोडफोड तथा लुटपाटका कारण अदालतमा भएका अधिकाशं कागजपत्र, मिसिल, कम्प्युटर, सवारीसाधन लगायतका सेवा प्रवाह सँग सम्बन्धित सामाग्रीहरु नष्ट भएकाले आजको लागि तोकिएका मुद्दाको पेसी तथा सेवा प्रवाह सँग सम्बन्धित सम्पूर्ण कार्य स्थगित गरिएको भोली देखिका पेसी तथा सम्पूर्ण कार्य अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको बताएका छन् ।


