चार्ड पर्वलाई लक्षित गरी राप्ती गाउँँपालिकाद्वारा बजार अनुगमन



चार्ड पर्वलाई लक्षित गरी राप्ती गाउँँपालिकाद्वारा बजार अनुगमन

भालुवाङ १७ भदौ । दाङको राप्ती गाउँपालिकाले मंगलबार देखि गाउँपालिकाका मुख्य बजार क्षेत्रहरुमा अनुगमन सुरु गरेको छ ।

दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको सहकार्यमा बजार अनुगमन सुरु गरिएको हो । अनुगमनको क्रममा भालुवाङ, पाखापानी, लालमटिया, बिजौरी, पिपरी, सिसहनियाँ र लठ्ठहवा क्षेत्रका ३९ वटा पसलहरुमा अनुगमन गरेको छ ।
जसमा २७ वटा किराना तथा गल्ला पसल, ४ वटा होटल, १ वटा मासु पसल, र ७ वटा ठेला व्यापारीहरुको अनुगमन गरेको छ । पछिल्लो समय देशका विभिन्न जिल्लामा हैजा, झाडापखाला, डेंगी लगायतका रोगको संक्रमण फैलिरहेको र होटल, मासु पसल, बधशाला, डेरी, गल्ला तथा किरानाहरुमा हुने अखाद्य वस्तुहरुको प्रयोगले मानव स्वास्थ्यमा असर गर्नुका साथै सेवाग्राहीहरु ठगिने समस्यालाई समेत मध्यनजर गरी बजार अनुगमन थालिएको बजार अनुगमन समितिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक दामोदर आचार्यले जानकारी दिए ।

अनुगमनको क्रममा अधिकाशं किराना पसलहरुमा म्याद गएका तथा लेवल नभएका सामान फेला परेका छन् । त्यस्तै केहि किराना पसलहरुमा मुल्यसुची नराखिएको, गाउँपालिकामा नवीकरण नगरेको भेटिएको छ । त्यस्तै एउटै व्यापारीले एउटा फर्मको नामबाट विभिन्न प्रकृतिका सामानहरु बिक्री गर्ने गरेको समेत फेला परेको छ । केही होटलहरुमा खाने तेलको गुणस्तरमा ह्रास देखिएको छ भने अखाद्य वस्तु फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बरालले जानकारी दिनुभयो । त्यसै गरी फूड कलर हालेको, म्याद नाघेका सामानहरू फेला परेको र सरसफाइमा कमी देखिएको कार्यालय प्रमुख बरालले बताए ।

फेला परेका अखाद्य वस्तुहरु केहि दिनमै नष्ट गरिने र त्यस्ता बस्तु भेटिएका पसलका सञ्चालकहरुलाई सचेत गराइएको कार्यालय प्रमुख बरालले बताउनुभयो । अगुमनमा बजार अनुगमन समितिका सदस्य तथा आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बराल, खाद्य निरिक्षक सुदर्शन गोसाई, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य ओमप्रकाश गुप्ता, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, इलाका प्रहरी कार्यालय भालुवाङ र सिसहनियाँका प्रतिनिधि, गाउँपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे