राप्ती नदीकाे बगरमा सामूहिक सखरखण्ड खेती : सभामुख र पालिका अध्यक्षद्वारा श्रमदान



राप्ती नदीकाे बगरमा सामूहिक सखरखण्ड खेती : सभामुख र पालिका अध्यक्षद्वारा श्रमदान
भालुवाङ ८ भदौ । दाङको राप्ती गाउँपालिकामा खाली जग्गा उपयोग गरि कृषकलाई आत्मनिर्भर बनाउन सामूहिक सखरखण्ड खेती सुरु गरिएको छ।
गाउँपालिकाको वडा नम्बर २ कठाहा क्षेत्रमा करिब दुई बिघा नदि उकास जमिनमा प्रगतिशील कृषक समूह र कठाहा गाउँ भूमि अधिकार मञ्चले वडा अध्यक्ष पहलवान चौधरीको पहलमा सामूहिक खेती थालेका हुन्। खाली रहेको जमिनलाई उपयोग गर्दै कृषकलाई सामूहिक खेतीतर्फ प्रोत्साहित गर्ने र आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले गरिएको उक्त कार्यमा आवश्यक बेर्ना, कृषि औजारकाे भाडा तथा प्राविधिक सहयोग गाउँपालिकाको साझेदार संस्था सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी)ले उपलब्ध गराएको छ। हाल श्रमदानमार्फत बिरुवा रोप्ने काम भइरहेको वडा अध्यक्ष चौधरीले बताए ।
यसैबीच आइतबार लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट र पालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी लगायतका जनप्रतिनिधिहरुले श्रमदान कार्यमा सहभागी भई कृषकहरुसँगै काम गरेका छन् । श्रमदानका क्रममा सभामुख घर्तीले कृषकको आयआर्जन बढाउन यस्ता सामूहिक पहल अत्यन्तै महत्वपूर्ण हुने बताए। उनले नेपाल जस्तो कृषि सम्भावना भएका मुलुकमा अझै उत्पादन र बजार व्यवस्थापनमा चुनौती रहेकाले सामूहिक खेतीले कृषकलाई संगठित मात्र नभई उत्पादनलाई बजारसम्म पु¥याउन सहज बनाउने विश्वास व्यक्त गरे । त्यस्तै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले कृषक आत्मनिर्भर बनाउन दीर्घकालीन योजना अघि सारिएको बताउँदै उत्पादन मात्र नभई बजारसम्म पु¥याएर उचित मूल्य दिलाउनु अहिलेको आवश्यकता भएको औंल्याए । उनले उत्पादन प्रवर्द्धन र बजार व्यवस्थापनमा पालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
सामुदायिक आत्मनिर्भर सेवा केन्द्रकी कृषि प्राविधिक सीता कुमारी चौधरीले सो क्षेत्रको माटो सखरखण्ड खेतीका लागि उपयुक्त रहेको बताउँदै प्रति कठ्ठामा पाँचदेखि छ क्विन्टलसम्म उत्पादन लिने लक्ष्य राखिएको जानकारी दिइन्। उनका अनुसार उत्पादन भएको सखरखण्डलाई सामूहिक रूपमा नजिकैको हाटबजारमा बिक्री गरिने र आवश्यकता अनुसार जिल्ला बाहिर समेत पुर्‍याउने व्यवस्था मिलाइनेछ। साथै आउँदो माघदेखि सो क्षेत्रमा खरबुजा खेती गरिने र त्यसको लागि जग्गाको क्षेत्रफल विस्तार गर्ने योजना रहेको वडा अध्यक्ष चौधरीले जानकारी दिए। यसअघि सो क्षेत्रमा गाउँपालिकाले पालिकालाई फलफुलमा आत्मनिर्भर बनाउने र विपन्न नागरिकलाई रोजगारीसँग जोड्ने उद्देश्यले २० हेक्टरभन्दा बढी क्षेत्रमा सामूहिक रूपमा विभिन्न प्रकारका फलफूलका बिरुवा रोपेको रोपिएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे