भालुवाङमा खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न : डि–डान्स फिटनेश स्टुडियो प्रथम
भालुवाङ ३१ साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
हिन्दु नारीहरको महान् पर्व हरितालिका तीजको अवसरमा राप्ती उद्योग वाणिज्य संघले श्रीकृष्ण जन्मअष्टमीका दिन तीज गीत तथा नृत्य प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा डि–डान्स फिटनेश स्टुडियो भालुवाङ प्रथम भएको छ । ११ वटा समुहलाई हराउँदै स्टुडियोले प्रथम पुरस्कार हात पार्न सफल भएको हो । स्टुडियोले प्रमाण–पत्र सहित नगद २० हजार रुपैयाँ हात पारेको छ । त्यस्तै प्रतियोगितामा स्टार बाल क्लव मसुरिया द्धितीय, आशाका किरण संस्था राप्ती तृतीय र सिर्जनशील दिदीबहिनी समुह भालुवाङ सान्त्वना भएका छन् । बिजेता समुहहरुलाई पुरस्कार स्वरुप क्रमश नगद २०, १५, १० र ५ हजार तथा प्रमाण–पत्र प्रदान गरिएको छ ।
बिजेता समुहहरुले देशमा बढ्दो भ्रस्टचार, बलात्कार, हत्याहिंसा बढ्दै गएको, गीतहरुमा मौलिकता हराउँदै गएको, तीज पर्व भड्किलो बन्दै गएको र समाज भित्रका विकृती विसंगती बढ्दै गइरहेको जस्ता विषयवस्तु समेटेर गीत प्रस्तुत गरेका थिए । प्रतियोगिताको निर्णायकमा साहित्यकारहरु नारायण योगी, छविलाल कोपिला र अर्जुन कुमार पौडेल रहेका थिए । संघका अध्यक्ष सुरज खड्को अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
प्रतियोगिता उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विष्टले पछिल्लो समय आमनागरिकहरु सरकारको क्रियाकलाप प्रति रुष्ट भइरहेका महिला तीज गीतका माध्यमबाट समेत महिला दिदीबहिनीहरुले आक्रोश व्यक्त गरेको भन्दै आफु पनि एउटा स्थानीय सरकार प्रमुख भएको नाताले संघीय सरकार समक्ष जनताका गुनासा पु¥याउने बताए । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का लगायतका वक्ताहरुले बोलेका थिए । संघका वरिष्ठ उपाध्यक्ष बसन्त गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका महासचिव बासुदेव न्यौपाने गरेका थिए ।
