राप्ती आधारभूत अस्पतालमा सेवाग्राहीको चाप बढ्दै, सामान्य प्रकारको शल्यक्रिया गर्ने तयारी



राप्ती आधारभूत अस्पतालमा सेवाग्राहीको चाप बढ्दै, सामान्य प्रकारको शल्यक्रिया गर्ने तयारी

भालुवाङ २९ साउन । दाङको राप्ती गाउँपालिका–५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा सेवाग्राहीहरूको चाप बढ्दै गएको छ ।

पछिल्लो समय अस्पतालले प्रदान गर्ने सेवा, पूर्वाधार, व्यवस्थापन र दक्ष चिकित्सकको उपलब्धतामा उल्लेखनीय सुधार गर्दै गणस्तरीय स्वास्थ्य सेवा दिइरहेकाले पनि सेवाग्राहीहरूको विश्वास बढ्दै गएको हो । अस्पताल प्रशासनका अनुसार पछिल्ला केही महिनामा गुणस्तरीय सेवा प्रवाह, संरचना र व्यवस्थापनमा उल्लेखनीय प्रगति भएको छ । अस्पतालका प्रशासन प्रमुख धनबहादुर खड्काका अनुसार सेवा शुरु भएको सात महिनामै दैनिक डेढ सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । हाल चौबिसै घण्टा आपत्कालीन सेवा, ल्याब परीक्षण, भिडियो एक्स–रे, फार्मेसी, अन्तरङ, प्रसूति सेवा लगायतका सुविधा नियमित सञ्चालनमा रहेको अस्पतालका प्रशासन प्रमुख खड्काले बताए।

उनले स्थानीय जनताको अपेक्षाअनुसार गुणस्तरीय सेवा दिन हामी पूर्णरूपमा प्रतिबद्ध छौं ।’ एमडी जिपी डा. हरि पाण्डेका अनुसार पछिल्लो समय अस्पतालबाट सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भएकाले बाहिर रिफर हुने बिरामीको संख्या घटेको बताए । अत्यन्त जटिल केस बाहेक अधिकांश बिरामी यहीं भर्ना गरेर उपचार गर्दै आएको प्रशासन प्रमुख खड्काले बताए । प्रशासन प्रमुख खड्काका अनुसार सात महिनामा मात्रै १९ हजार एक सय दुई जनाले सेवा लिइसकेका छन् । उनका अनुसार संरचनागत सुधार, कर्मचारी व्यवस्थापन र उपकरण अभावको समाधानका लागि निरन्तर पहल बताए । साथै अव समान्य प्रकृतिको शल्यक्रिया समेत गर्ने गरी तयारी थालेको समेत उनले बताए । हाल अस्पतालमा दुई एमडी जिपी, चार मेडिकल अफिसर सहित ४१ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । साथै प्रत्येक हप्ता बुटवलबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सक आएर सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे