युवा चेम्बरको अनुकरणीय कार्य : गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा र खुल्ला रक्तदान
भालुवाङ २८ साउन । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्स मातहत युवा चेम्बर अफ कमर्सले बुधबार राप्ती गाउँपालिका–५ सिसहनियाँ खुल्ला रक्तदान सँगै निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
२६ औं अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर युवा चेम्बरले शिविर सञ्चालन गरेको हो । पैसा अभावका कारण उपचार गराउन नसक्ने अवस्था भएका गरिव तथा विपन्न नागरिकहरूलाई लक्षित गरि शिविर सञ्चालन गरेको युवा चेम्बर अफ कमर्सका अध्यक्ष मोतीराम भट्टराईले जानकारी दिए । राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा आध्या मेडिकल हल सिसहनियाँ र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरबाट २ सय ३० जना बिरामीहरूले सेवा लिएका थिए । जसमा नशा तथा हाडजोर्नीका समस्या भएका १ सय ४० जना बिरामी र महिला समस्या भएका ९० जना बिरामीले सेवा लिएका थिए ।
त्यस्तै शिविरमा विभिन्न क्षेत्रका २४ जनाले रगत दान गरेका थिए ।
शिविरको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका थिए । शिविर उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विष्टले रक्तदानलाई सबै भन्दा उत्कृष्ट दानको भएको उल्लेख गर्दै युवाहरूलाई रचनात्मक कार्यमा सक्रिय हुन आग्रह गरेका छन् । उनले जिल्लाका विभिन्न अस्पतालमा रगतको अभाव भइरहेका बेला युवाहरूको पहल प्रशंसनीय र अनुकरणीय भएको बताए । यस कार्यले रगत अभाव कम गर्न महत्वपूर्ण योगदान पु¥याउने समेत उनले बताए । अध्यक्ष विष्टले पालिकामा स्वास्थ्य पूर्वाधार विस्तारको काम भइरहेको चर्चा गर्दै वडा नं. १ भालुवाङमा प्रदेश स्तरीय भालुवाङ अस्पताल र वडा नं. ५ कालापानीमा पालिका स्तरीय राप्ती आधारभूत अस्पताल सञ्चालनमा आइसकेको जानकारी दिए । साथै बिरामीहरूलाई आवश्यक पर्ने रगतका लागि गाउँपालिकामा ब्लड बैंक स्थापना अति आवश्यक रहेको उल्लेख गर्दै, स्थानीय सरकारले यसको स्थापना गर्न आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
युवा चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष पदम परियारको स्वागत मन्तव्यबाट सुरू भएको शिविर उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य शंकर गौतम, राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्वास्थ्य शिविरमा नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा. निरज केसी र महिला रोग विशेषज्ञ डा. विनय पाण्डे र स्वास्थ्यकर्मीहरू सुदन घिमिरे, शान्ता खनाले सेवा दिएका थिए । भने रक्तदान तर्फ रक्त सञ्चार सेवा केन्द्र लमहीका प्रमुख सिमा वली र प्राविधिकहरू विष्णा पोख्रेल, झरना चौधरीले सेवा दिएका थिए । कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।
