चरा संरक्षणका लागि वातावरणमैत्री कृयाकलापमा ध्यान देउ : मन्त्री कलवार
देउखुरी २८ साउन । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देबकरण कलवारले सबै खाले चरा संरक्षणका लागि सबैले वातावरणमैत्री कृयाकलाप गर्न आवश्यक रहेको बताएका छन् । नेपाल पंक्षी संरक्षण संघले आज बुधबार दाङ–देउखुरीको भालुवाङमा आयोजना गरेको दाङ–देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रबासी चराहरूको संरक्षणका लागि स्थानीय सरकार र समुदायको संलग्नता बिषयक परियोजनाको बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कलवारले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय रैथाने चराहरू हराउँदै गईरहेको र आप्रबासी चराहरू आउने गरिरहेको अवस्थामा सबै खाले चरा संरक्षणका लागि सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको बताए । मन्त्री कलवारले चरा संरक्षणका लागि कुनै एउटा संस्था र सरकारले मात्र चाहेर सम्भव नहुने बताउँदै चरा संरक्षणका बिषयमा समुदायस्तर व्यापक सचेतना फैलाउन आवश्यक रहेको बताए ।
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देबकरण कलवारको प्रमुख आतिथ्यता भएको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव भट्टराईले चरा संरक्षणको बिषय निकै संवेदनशिल रहेको बताए । उनले चरा बस्ने वातावरण अनृकुल नभए कै कारण चराहरू लोप हुनु निकै गम्भीर बिषय भएको बताए । सचिव भट्टराईले चरा संरक्षणका लागि प्रदेश सरकार गम्भीर रहेको र आवश्यक बजेट र कार्यक्रम ब्यवस्था गर्ने बताए ।

यस्तै लुम्बिनी प्रदेशको वन निर्देशनालयका वन निर्देशक प्रभात सापकोटाले नेपालमा चरा संरक्षणको बिषय सबैका लागि प्राथमिकतामा पर्नुपर्ने बताए । उनले चरा संरक्षणका लागि स्थानीय समुदाय, स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले कार्यक्रम र बजेटको व्यवस्था गरेर अभियानका रूपमा लाग्नु पर्ने बताए । चरा संरक्षणका बिषयमा वातावरणमैत्री व्यवहार बनाउन सबै जना लाग्नु पर्नेमा समेत जोड दिए ।
कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले परियोजना र संस्थाले अहिले सम्म गरिरहेको कामको बिषयमा बिस्तृत रूपमा जानकारी गराएका थिए । यस्तै वर्ड लाइफ इन्टरनेशनलका कोडिनेटर डा. आनन्द चौधरीले बसाईसराई भएर आउने चराहरूको अवस्था र जैविक विविधता लगायतका बिषयमा प्रस्तुति गरेका थिए ।

दाङ–देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रबासी चराहरूको संरक्षणका लागि स्थानीय सरकार र समुदायको संलग्नता बिषयक परियोजना हाल राप्ती नदीलाई लक्षित गरी दाङको राप्ती गाउँपालिका सहित लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा लागू हुने भएको छ ।
उक्त परियोजनाको बिषयमा पहिलो चरणमा वडा स्तरिय, पालिकास्तरिय र प्रदेश स्तरिय सरोकारवाला संग छलफल तथा अन्तरक्रिया गरिने परियोजना अधिकृत नेपालीले जानकारी दिए । परियोजना करिब १० महिना सम्म चल्ने छ । त्यस्तै उक्त परियोजनाका लागि करिब १७ लाख बजेट सुनिश्चत समेत गरिएको छ । परियोजनाले राप्ती नदीमा सदाभर रहने चराहरू संगै हिउँद मौसममा बिदेशबाट आउने चराहरूको पहिचान, चराहरूको गणना र चराहरूको बासस्थान लगायतका बिषयमा अध्ययन गर्ने बताईएको छ ।

कार्यक्रममा डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्ले, डिभिजन वन कार्यालय दाङका प्रमसख बिसेन्द्रराज सुवेदी, ईएसडी आरसीका अध्यक्ष डिल्लीबहादुर रावत, पत्रकार बिदुर एमसी र स्थानीय पंक्षी संरक्षणकर्मी यमबहादुर रोका र पाटेश्वरी चौधरी लगायतका वक्ताले आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, डिभिजन वन अधिकृत, सामुदायिक वन समूहका अगुवाहरू, स्थानीय पंक्षी संरक्षणकर्मी र पत्रकारहरू गरी करिब ३० जना बढीको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार सन्तोषकुमार गुप्ताले गरेका थिए ।




