दाङको राप्तीमा युवा चेम्बरले सरसफाइ कार्यक्रम गरेर अन्तराष्ट्रिय युवा दिवस मनायाे
भालुवाङ २७ साउन । दाङको राप्ती गाउँपालिकामा सरसफाइ कार्यक्रम गरि अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ । २६ औं अन्तराष्ट्रिय युवा दिवसका अवसरमा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सले सरसफाई कार्यक्रम गरेर युवा दिवस मनाएको हो ।
दिवसका अवसरमा युवा चेम्बरले राप्ती गाउँपालिका ५ नम्बर वडा कार्यालय परिसर सरसफाइ गरेको हो । युवा चेम्बर अफ कमर्सका अध्यक्ष मोतीराम भट्टराईको अगुवाई तथा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीको विशेष उपस्थितिमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा राप्ती चेम्बर अफ कमर्स,युवा, महिला तथा कृषि चेम्बर, सिसहनियाँ उद्योग वाणिज्य संघ, प्रगतिनगर शहरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्था, इलाका प्रहरी कार्यालय सिसहनियाँ र जीवन दृष्टि पुर्नस्थापना केन्द्रको सहभागीतामा सरसफाई गरिएको युवा चेम्बरका अध्यक्ष मोतीराम भट्टराईले जानकारी दिनु भयो । यसै दिवस दिवसका अवसरमा युवा चेम्बरले साउन २८ गते खुल्ला रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको छ ।
राप्ती गाउँपालिका, राप्ती चेम्बर अफ कमर्सको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमही र आध्या मेडिकल हल सिसहनियाँको प्राविधिक सहयोगमा शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा रक्तदान सँगसँगै सञ्चालन गर्न लागेको निशुल्क स्वास्थ्य शिविरमा वरिष्ठ दम तथा छाती रोग विशेषज्ञ सेवा, हाडजोर्नी, ट्रमा, नशा तथा स्पाइन रोग विशेषज्ञ सेवा, वरिष्ठ जनरल तथा सुगर, थाइराइड जाँच, वरिष्ठ महिला तथा स्त्री रोग विशेषज्ञ सेवा प्रदान गरिने आयोजकले बताएको छ ।
साउन २८ गते विहान ८ बजे देखि राप्ती गाउँपालिका–५ नम्बर वडा कार्यालय परिसरमा सुरू हुने शिविरमा रक्तदान गरि सहयोग गर्न र स्वास्थ्य शिविरबाट सेवा दिन आम राप्तीबासी नागरिकहरूलाई आयोजकले अनुरोध समेत गरेको छ । सरसफाइ कार्यक्रममा राप्ती चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कुमार अधिकारी, निर्वतमान अध्यक्ष तथा सल्लाहकार नेमलाल शर्मा बेल्वासे, वर्तमान अध्यक्ष बसन्त बहादुर कुवर क्षेत्री, महासचिव खेमराज अर्याल, कोषाध्यक्ष अर्जुन कुमार क्षेत्री, इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ नायव निरिक्षक रकमबहादुर खड्का, जीवन दृष्टि पुर्नस्थापना केन्द्रका सञ्चालक भुमिराज नेपाल, महिला चेम्बर अफ कमर्सकी कोषाध्यक्ष शान्ता खनाल, प्रेस सल्लाहकार तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, हिमालय टेलिभिजनका संसदीय व्युरो सन्तोष कुमार गुप्ता लगायतको विशेष उपस्थिति रहेको थियो ।


