नेपाल राष्ट्रिय दलित सञ्जाल राप्तीको नवनिर्मित कार्यालय भवनकाे उद्घाटन
दाङ २५ साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँमा नेपाल राष्ट्रिय दलित सञ्जालको कार्यालय भवन निमार्ण गरिएको छ ।
राप्ती गाउँपालिकाको ७ लाख र जनश्रमदान गरी कुल ९ लाखको लागतमा उक्त भवन निमार्ण भएको सञ्जालका अध्यक्ष ठगेन्द्र परियारले जानकारी दिएका छन् । यसै बीच नवनिर्मित भवनको आइतवार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गरेका छन् । भवन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विष्टले दलित माथि हुने छुवाछुत प्रथाको अन्त्य र दलित माथि गरिने व्यववहारमा समेत परिवर्तन हुन नसकेको बताए । दलितका लागि बनेको कानुन छ तर त्यो कानुन अझै पनि कागजमै समिति रहेकाले कानुन कार्यान्वयनका लागि सम्पूर्ण दलित समुदाय र गैरदलित समुदायलाई पनि मुक्तिको यात्रामा सँगसँगै मिलाएर लग्न सके मात्र दलित समुदायको मुक्ति सम्भव हुने बताए ।
त्यस्तै अध्यक्ष विष्टले दलित युवाहरूले परम्परागत सीप र कलाको जगेर्ना गर्दै त्यसलाई व्यवसायीकरण गर्नुपर्ने आवश्यकता रहेको बताए । “समग्र पालिकाको समृद्धि र विकासमा दलित समुदायको योगदान महत्वपूर्ण छ,” अध्यक्ष विष्टले भने, दलित समुदायमा लोप हुँदै गएको सिप र कलालाई गैरदलितले अंगाल्न थालेकोले आफ्नो सिप र कलालाई बचाई राख्न उनले सुझाव दिए । सञ्जालका अध्यक्ष ठगेन्द्र परियारको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको भवन उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य ओमप्रकाश गुप्ता, नेकपा माओवादी केन्द्रका सुरेश कुमार चौधरी, नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरी, कार्यपालिका सदस्यहरू रणबहादुर पुजाली, संजिप छिनाल, राप्ती केरा प्रवद्र्धन समुहका अध्यक्ष रणप्रसाद सुवेदी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सञ्जालका सदस्य इन्द्रजित नेपालीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सञ्जालका सचिव रामकृष्ण सुनदासले गरेका थिए ।

