दाङकाे गढवामा ९ जना भूमिहिन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण



दाङकाे गढवामा ९ जना भूमिहिन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण

देउखुरी २३ साउन । दाङको गढवा गाउँपालिकामा भूमिहिन दलित र भूमिहिन सुकुम्बासीहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ । गढवा गाउँपालिका वडा नं. २ स्थित डाँडाटोलका ८ जना भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासीलाई प्रति व्यक्ति चार धुरदेखि पाँच कट्ठा १७ धुरसम्म गरी १ बिघा १२ कट्ठा १ धुर जग्गाको लालपुर्जा वितरण गरिएको हो ।

भूमि समस्या समाधान आयोग दाङ र संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम तथा सामाजिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा गढवा गाउँपालिकाले उक्त प्रमाण पुर्जा वितरण कार्यक्रमको आयोजना गरेको हो । भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालको विशेष उपस्थितिमा प्रमाण पुर्जा वितरण गरिएको हो ।

करीब ४०/४५ वर्षअघि डाँडाटोलमा बस्ती बसोबास थालेको भए पनि त्यसबेला नापजाँच नहुँदा जग्गाधनी प्रमाण पुर्जाबाट वञ्चित स्थानीयवासीहरू अहिले लालपुर्जा पाउँदा अत्यन्तै खुसी भएका छन् । स्थानीय सीता बैजाली घर्ती, पूर्ण पुन मगर, तारा पुन मगर, हिरालाल विक, रामबहादुर चौधरी, मंगलप्रसाद चौधरी, बिच्छु कामी र सुइटी विश्वकर्मालाई लालपुर्जा वितरण गरिएको हो ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति दाङको साउन ५ गते बसेको बैठकले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए ।

अध्यक्ष बस्नेतका अनुसार जिल्लामा ६ हजार ४ सय ७४ भूमिहिन दलित, १० हजार ९ सय ५० भूमिहिन सुकुम्बासी र ५१ हजार ५ सय २ जना अव्यवस्थित बसोबासी गरी जम्मा ६८ हजार ९ सय २६ जनाको फारम संकलन भएको जनाइएको छ । उनले बिगतका आयोगका गतिविधि जटिल भए पनि आफ्नो नेतृत्वमा निरन्तर काम गरी लालपूर्जा वितरणको अभियान अघि बढाउन सफल भएको बताए।

अध्यक्ष बस्नेतले जिल्लाका केही पालिकामा पहिलो चरणको पूर्जा वितरण भइसकेको छ भने अधिकांश पालिकामा जग्गा नापतौल र अभिलेख तयार भई अन्तिम तयारीको चरणमा पुगेको छ। उनले राजनीतिक हस्तक्षेपलाई पूर्जा वितरणको मुख्य अवरोध बताउँदै यसलाई ‘फोहोरी राजनीति’ को संज्ञा दिए।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलको अध्यक्षता तथा आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै रिजालले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न आयोगमार्फत जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरणको कार्यलाई तीव्रता दिइएको बताए ।

आयोगका केन्द्रीय अध्यक्ष रिजालले चालु आर्थिक वर्षमै देशका ७७ वटै जिल्लामा ५ लाख भूमिहिन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने लक्ष्य रहेको बताए । पूर्जा वितरणको प्रक्रियामा केही कानूनी अड्चन आए पनि भूमिसम्बन्धी ऐन संशोधन भइसकेको र ती समस्या समाधान हुँदै जाने उनको भनाइ थियो।

भूमिसम्बन्धी अध्यादेश राजनीतिक दलहरूले मिलेर असफल बनाएको आरोप लगाउँदै उनले समस्या समाधानका लागि सबै दलको बराबरी दायित्व रहेको उल्लेख गर्नु भयो। अध्यक्ष रिजालका अनुसार आउने दुई वर्षभित्र सम्पूर्ण भूमिसम्बन्धी काम सम्पन्न गर्ने लक्ष्य लिएकाे समेत बताए।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले वर्तमान भूमि ऐन भूमिहिन दलित र सुकुम्बासीको पक्षमा संशोधन हुनुपर्नेमा जोड दिए । “भू–माफियाको हातमा जग्गा जाने खालको नीति अस्वीकार्य छ, राजनीतिक दल एक भएर समाधानमा लाग्नुपर्छ,” थारुले भन्नु भयो। भूमि समस्याको स्थायी समाधानका लागि सरकार इमानदार भएर अघि बढ्नुपर्ने सुझाव समेत दिए ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवामा १ हजार ३ सय भूमिहिन दलित तथा सुकुम्बासी र करिब ६ हजार अव्यवस्थित बसोबासी रहेकाे बताए । उनले  कानूनी समस्या नभएका बस्तीमा क्रमशः पूर्जा वितरण भइरहेको र आयोग विघटनको बेला पनि पालिकाले आन्तरिक तयारी निरन्तर अघि बढाएको बताए ।  अध्यक्ष पोख्रेलले वन क्षेत्रमा बसोबास गर्ने भूमिहिनलाई तत्काल पूर्जा वितरण गर्न कानूनी अड्चन रहे पनि ऐलानी लगायत समस्या नभएका क्षेत्रमा बासोबास गर्ने नागरिकलाई प्राथमिकतामा राखी वितरण सुरु गरिएको समेत बताए।

यस्तै भूमि संयोजक सञ्जित पौडेलले २०७५ सालदेखि सुरु भएको यो अभियानमा स्थानीय सरकारसँगै सहजिकरण समिति, आत्मनिर्भर सेवा केन्द्र, संयुक्त राष्ट्रसंघ मानव बसोवास कार्यक्रम लगायतका संस्थाहरूको प्राविधिक सहयोग रहेको बताए “यो केवल कागजको पूर्जा मात्र होइन, भूमिहिनको जीवनमा कानूनी हैसियत र सामाजिक गरिमा फर्काउने आधार हो,” पौडेलले भने ।

कार्यक्रममा  गढवा गाउँपालिकाका पूर्व अध्यक्ष सहजराम यादव, नापी कार्यालय दाङका प्रमुख पुरण चौधरी, नापी कार्यालय लमहीका प्रमुख प्रदीप ज्ञवाली, मालपोत कार्यालय लमहीका प्रमुख रामप्रसाद खनाल, संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम नेपालका जिल्ला संयोजक वन्धना सिंहा, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यक्रम संयोजक रेमन्त चौधरी, वडा नं. २ का वडा अध्यक्ष भक्तु चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साे अवसरमा जग्गा नापतौलदेखि पूर्जा वितरणसम्म सक्रिय भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो।गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे