बिहानी सहकारीको तीज मिलन कार्यक्रम : तीज गीतको माध्यमबाट दुख पोख्दै महिलाहरू
भालुवाङ २२ साउन। तीज पर्व नजिकिँदै गर्दा महिलाहरूले परम्परागत गीत, नृत्य र भाकामार्फत आफ्ना पीडा र भावनाहरू पोख्न थालेका छन् । विशेषतः गाउँघरका महिला, जसको आवाज कहिल्यै सार्वजनिक हुँदैन, तीज गीतको माध्यमबाट समाजमा व्याप्त विभेद, घरेलु हिंसा, पतिको अवहेलना, सासू-ससुराको दबाब तथा आर्थिक पीडालाई खुलस्त गर्दै आएका छन्।
बिहीबार दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा रहेको बिहानी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको तीज मिलन कार्यक्रममा सहभागी महिलाहरूले तीज गितको माध्यमबाट दुख पिडा पोखेका छन् । यस्ता भाकामा महिलाहरूको भित्री वेदना झल्किन्छ। सहकारी संस्थाकी भगवताले भन्छिन्, “तीज हाम्रो भावनाको समुद्र हो। हामी गीतको माध्यमबाट न्यायको माग गर्छौं।” उनका अनुसार महिला हिंसा, गरिबी, बेरोजगारी, शिक्षा नपाएको पीडा, र घरायसी असमानता तीज गीतमार्फत व्यक्त गरिन थालेको छ। यसैक्रममा तीज गीतहरू सामाजिक परिवर्तनको सशक्त माध्यम बन्न थालेका छन्। कतिपय स्थानीय कलाकार तथा महिला समूहहरूले मौलिक तीज गीत रेकर्ड गरी सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिरहेका छन्, जसले अझ ठूलो दर्शक वर्गमा पुग्न थालेको छ।
महिला उपसमिति सदस्य रामदुलारी चाैधरीको अध्यक्षता एवम् संस्थाका सल्लाहकार तथा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष बामदेव चाैधरी, लेखा संयाेजक प्रेमलाल चाैधरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता लगायतको उपस्थिति रहेको थियो । संचालक समिति सदस्य इन्द्रदेवि नेपालीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक बालिका शर्माले गरेकी थिइन् ।

