दाङको राप्तीमा १३ हजार भन्दा बढी बालबालिकाहरुको मुटु परीक्षण गरिदै



दाङको राप्तीमा १३ हजार भन्दा बढी बालबालिकाहरुको मुटु परीक्षण गरिदै

भालुवाङ, १९ साउन । दाङको राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी बालबालिकाहरुको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ। राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (केन्द्रीय कार्यालय ललितपुर, लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा) को प्राविधिक सहयोगमा साे कार्यक्रम सुरु गरिएको हो। कार्यक्रमअन्तर्गत पालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १३ हजार ७ सय १८ जना बालबालिकाहरुको जन्मजात मुटुरोग तथा बाथ मुटुरोग सम्बन्धी निःशुल्क परीक्षण गरिन लागेको रोटरी क्लव अफ राप्तीका संस्थापक अध्यक्ष बासुदेव न्याैपानेले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बालबालिकाको स्वास्थ्यलाई पालिकाको उच्च प्राथमिकतामा राख्दै कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनले भने, “हाम्रो लक्ष्य शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको समग्र स्वास्थ्यमा सुधार ल्याउनु हो । मुटुरोगजस्ता संवेदनशील विषयमा सचेतना र समयमै परीक्षण अत्यन्त आवश्यक भएकोले यस्तो अभियान सञ्चालनमा ल्याइएको हो ।” अध्यक्ष विष्टले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानी दीर्घकालीन विकासको आधार भएको उल्लेख गर्दै यस्ता जनस्वास्थ्य केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेका अनुसार ३ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा फोहोर वातावरण र अस्वस्थ खानपानका कारण घाँटीमा संक्रमण भई मुटुमा असर पुग्ने सम्भावना उच्च हुने भएकाले समयमै परीक्षण गर्नु आवश्यक हुन्छ। उनका अनुसार, “यस उमेर समूहका बालबालिकाहरू फोहोरमा खेल्ने, अस्वस्थ खाना खाने प्रवृत्ति हुने हुँदा घाँटीमा समस्या हुँदै मुटुमा असर पर्ने खतरा हुन्छ।”

कोहीमा जन्मजात नै मुटुरोग देखापर्ने पनि उल्लेख गर्दै डा. बन्जाडेले गर्भावस्थामा आमाले अन्जानमा कडा औषधि सेवन गर्ने, धूम्रपान वा मध्यपान गर्ने, अत्यधिक तनावमा रहने जस्ता कारणले समेत नवजात शिशुको मुटुको भल्भमा प्वाल पर्ने समस्या देखिने गरेको बताए । उनले रोग लागेपछि उपचारभन्दा पनि समयमै परीक्षण र सचेतनाले रोगबाट बच्न सकिने हुँदा प्रत्येक व्यक्ति स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको शुभारम्भ साेमबार वडा नं. २ मा रहेको आदर्श माध्यमिक विद्यालय लालमटियाबाट गरिएको छ। पहिलो दिन राप्ती गाउँपालिका वडा नम्बर १ को नेपाल राष्ट्रिय मावि भालुवाङ, नवप्रतिभा आधारभुत विद्यालय पाखापानी र वडा नम्बर २ को आदर्श नमुना मावि लालमटियाका कुल १ हजार ४ सय ७० जना बालबालिकाको मुटु परिक्षण गर्दा २ जना बालबालिकामा मुटुको समस्या देखिएको डा. बञ्जाडेले बताए । आयोजकका अनुसार पालिकाभित्रका सबै विद्यालयमा पुगेर विद्यार्थीहरूको मुटु परीक्षण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे