भालुवाङमा भयानक दुर्घटना : २ जना घाइते, आशाका किरण संस्थाका अध्यक्ष पक्राउ
भालुवाङ १७ साउन । साँझको समय थियो, केहि युवाहरु मध्येका आशाका किरण संस्थाका सल्लाहकार छविलाल कडेल र स्थानीय रामु सुनाम लमही–भालुवाङ सडक खण्डको भालुवाङ बजारमा सडक पार गर्दै थिए, पश्चिमबाट पुर्व तर्फ ३ जना केटाहरु बसेर होहल्ला गर्दै गरेको रा ३ प ५४४१ नम्बरको एउटा मोटरसाइकल तीव्र गतिमा आयो र सिधा उनीहरूलाई ठक्कर दियो ।
एकै छिनमा भीड जम्मा भयो, कोही चिच्याए, कोही मोबाइल निकालेर भिडियो खिच्न थाले । घटना स्थलमा तुरुन्त नेपाल प्रहरी र ट्राफिक प्रहरी पुग्यो तत्काल घाइते दुवैलाई अस्पताल लगियो । भने ठक्कर दिने मोटरसाइकल चालक थिए आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासे, ठक्कर दिएर भाग्दै गरेका बेल्वासेलाई भने प्रहरीले तत्काल पक्राउ ग¥यो । यो कुनै सत्य घटना भने होइन् । इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङको सहकार्यमा आशाका किरण संस्थाले बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्नका लागि शनिबार राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा प्रदर्शन गरेको ट्राफिक सचेतनामुलक सडक नाटक मात्र थियो ।
सडक नाटकमा दुर्घटना पश्चात हुने विभत्स घटनालाई सांकेतिक रुपमा प्रस्तुत गर्दै दुई युवा मोटरसाइकल दुर्घटनामा परेर रगताम्य भै सडकमा छटपटाइरहेको नमूना दृश्य देखाइएको थियो । आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेले जनतामा चेतनाको कमी हुँदा र सम्बन्धीत निकायहरुले दुर्घटना न्युनीकरण समबन्धमा योजनाबद्ध रुपमा काम नगर्दा सडक दुर्घटना बढ्दै गएको बताएका छन् ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख प्रहरी वरिष्ठ नायव निरिक्षक ईश्वरीप्रसाद देवकोटाले ट्राफिक नियमको पालना नगर्दा तथा आफ्नै लापरबाहीले दुर्घटना हुने गरेको बताउनु भयो । सडक नाटकमा आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासे, सचिव थमन राना, सल्लाहकार छविलाल कडेल, सदस्यहरू ममता गिरी, सिर्जना खड्का, पवित्रा विश्वकर्मा, लक्ष्मी पोख्रेल र ऋषि पौडेल, रामु सुनाम लगायतले अभिनय गरेका थिए ।
