सामुदायिक वन समूहमा जस्तै हरेक क्षेत्रमा महिला सहभागिता बढाउनु पर्छ : मन्त्री कलवार



सामुदायिक वन समूहमा जस्तै हरेक क्षेत्रमा महिला सहभागिता बढाउनु पर्छ :  मन्त्री कलवार

पाल्पा १७ साउन । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले सामुदायिक वन समूहहरू संगै राज्यका हरेक तहमा महिला सहभागिता वृद्धि गर्नुपर्ने बताएका छन् । डिभिजन वन कार्यालय पाल्पाकाे आयाेजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशकाे समन्वयमा आज शनिबार पाल्पाकाे तानसेनमा सम्पन्न वन समूहका महिला पद्धाधिकारीहरूका लागि क्षमता अभिबृद्धि कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री कलवारले यस्ताे बताएका हुन् ।

उनले वन समूहहरूमा महिलाहरूले नेतृत्व गरे जस्तै अब राज्यका हरेक निकायमा महिला सहभागिता मात्र नभई महिला नेतृत्व आवश्यक रहेकाे बताए । उनले पछिल्लो समय संघसंस्था देखि राजनितीमा समेत महिलाहरूकाे सक्रियता बढ्नु निकै गाैरबकाे बिषय रहेकाे बताए । मन्त्री कलवारले आफू वन समूहहरूकाे हक अधिकारका लागि पूर्ण प्रतिबद्ध रहेकाे बताउँदै वन पैदवारमा लगाउने करका बिषयमा छलफल र संवादबाट निकास निकाल्ने बताए ।

डिभिजन वन कार्यालय पाल्पाका बरिष्ठ डिभिजन वन अधिकृत नारायणदेव भट्टराईकाे अध्यक्षता एवम् लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिती पाल्पाका प्रमुख टंकनाथ खनालले यस प्रकारका क्षमता वृद्धि कार्यक्रमहरू गाउँँ-गाउँमा सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले क्षमता अभिवृद्धिले मात्र महिलाहरूको सक्रियता संगै नेतृत्वमा अग्रसरता बढ्ने बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी समेत रहनु भएका लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले यस आर्थिक वर्षको पहिलाे कार्यक्रम पाल्पाबाट शुरू भएकाे बताए । उनले वन समूहका महिला पदाधिकारीका लागि प्रदेशभरि नै यस्तै क्षमता अभिवृद्धि कार्यक्रम राखिएको बताए । कार्यक्रमका आर्का विशिष्ट अतिथी पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वन समूहमा महिलाहरूले देखाएको सक्रियता र अग्रसरता नै उदाहरणको रुपमा लिन सकिने बताए । उनले महिलाहरू अधिकारका लागि आफै नै अग्रसरता देखाउनुपर्ने समेत बताए ।

यस्तै कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारीले कानुनमा महिलाहरुले अधिकार पाए पनि व्यवहारिक रुपमा अझै पनि पाउनुपर्ने अधिकार नपाएको गुनासो गरिन् । उनले राज्यकाे नेतृत्वमा महिला संख्या अझै पनि प्रर्याप्त नरहेकाे बताउँदै नेतृत्व लिन महिलाले निकै संघर्ष गर्नुपर्ने बताइन् । साथै उनले वन समूहहरूले कुनै प्रकारका कर कुनै सरकारलाई समेत तिर्न नसक्ने अडान राखे ।

डिभिजन वन कार्यालय पाल्पाका वरिष्ठ वन अधिकृत खिलबहादुर तामाङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल वन प्राविधिक संघका सल्लाहकार दामोदर शर्मा, जिल्ला प्रहरी कार्यालय पाल्पाका मञ्जु राना, बरिष्ठ वन अधिकृत मुना शर्मा र बराङ्गदी कोहल वन समूहका सचिव गीता बस्याल लगायतका वक्ताले आ-आफ्नाे भनाई राखेका थिए ।

कार्यक्रममा पाल्पा जिल्लाका तानसेन नगरपालिका सहित रिब्दीकोट, बगनासकाली र माथागढी गाउँपालिकाका वन समूहका ८० महिला पदाधिकारीहरू सहित १ सय ३ जनाकाे सहभागिता रहेकाे थियाे ।  कार्यक्रममा सहभागी महिलाहरूलाई कार्यालय व्यवस्था, नेतृत्व विकास र समूहका उपभोक्ताहरूलाई उद्यमशिलता र राेजगारी संग जाेड्नका लागि प्रशिक्षण समेत दिईएकाे थियाे ।  लुम्बिनी प्रदेशकाे वन तथा वातावरण मन्त्रालय अन्तर्गत यस आर्थिक बर्ष २०८२/०८३ काे पहिलाे कार्यक्रम पाल्पाले शुरू गरेकाे छ । कार्यक्रमकाे सञ्चालन वन कार्यालयका वन अधिकृत सुशील ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे