दाङको भालुवाङ अस्पतालमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया
भालुवाङ १२ साउन । दाङ—देउखुरीको भालुवाङ अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ । यही साउन ८ गते शुक्रबार भालुवाङ अस्पतालमा पहिलो पटक एक जनाको हर्नियाको सफल शल्यक्रिया गरिएको हो ।
दाङको राजपुर गाउँपालिका—१, कठबेरुवा निवासी ७२ बर्षीय नारायणप्रसाद चौधरीको हर्नियाको सफल शल्यक्रिया गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर आकाश बेल्बासेले जानकारी दिए ।

अस्पतालका एमडिजिबी डाक्टर रणबहादुर बोगटी नेतृत्वको टोलीले हर्नियाको सफल शल्यक्रिया गरेको हो । शुक्रबार दिउँसो करिब दुई घण्टा लगाएर उक्त शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
उक्त शल्यक्रियामा अस्पतालका अस्टियन डाक्टर रबिन मण्डल, सिनिर स्टाप नर्स मनिता अधिकारी र सिनियर अस्टियन मधुकुमार सुनार सहितको टिमले उक्त शल्यक्रिया गरेको अस्पताल प्रशासनले जनाएको छ । भालुवाङका पत्रकार महेश रिजालको सक्रियतामा चौधरीलाई साउन ७ गते भालुवाङ अस्पतालमा ल्याई भर्ना गरिएको थियो ।

भालुवाङ अस्पतालमा यस अघि पनि पाँच जना सुत्केरीको सफल शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल र एपेन्टाइटिसको समेत सफल शल्यक्रिया गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बेल्बासेले जानकारी दिए ।


