कोरोना यताको व्यापारिक चुनौती र युवा व्यवसायी विदेशिनुको पीडा



कोरोना यताको व्यापारिक चुनौती र युवा व्यवसायी विदेशिनुको पीडा

“डिजिटल प्लेटफर्मको सहयोगः स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न अनलाइन बजार, मोबाइल एप्स र डिजिटल भुक्तानीलाई सबल बनाउनुपर्छ । स्थानीय निकायको सक्रियताः गाउँपालिकादेखि महानगरसम्मका निकायहरूले स्थानीय युवा व्यवसायीलाई अनुदान, बजार व्यवस्थापन, र नीति निर्माणमा समावेश गर्नुपर्छ ।”

कोरोना महामारीपछि नेपालको आर्थिक, सामाजिक, र व्यावसायिक जीवनमा गम्भीर असर परेको छ। विशेषगरी साना तथा मझौला व्यापारीहरू र उदाउँदै गरेका युवा व्यवसायीहरू यस संकटबाट सबैभन्दा बढी प्रभावित भए । महामारीले ल्याएको लकडाउन, बजारको ठप्प अवस्था, आपूर्ति शृंखलाको अवरोध, र ग्राहकहरूको क्रयशक्तिमा आएको गिरावटले थुप्रै व्यवसाय बन्द भए, केही अस्तित्वको सङ्घर्षमा छन् । अर्कोतर्फ, युवा व्यवसायीहरूले देशमै केही गर्ने सपना देखेर थालेका प्रयासहरू विफल भएपछि उनीहरू पुनः विदेशिन बाध्य भइरहेका छन् ।

नेपालको जस्तो विकासशील देशमा जहाँ स्वरोजगारको सम्भावना सीमित छ, त्यहाँ निजी व्यवसाय एउटा मुख्य आशाको स्रोत हो । विशेष गरी कोरोना अघि नयाँ सोच, सस्तो प्रविधि र डिजिटल पहुँचको कारण धेरै युवाहरू स्वरोजगार र व्यवसायतर्फ आकर्षित भएका थिए । कसैले इ–कमर्श सुरु गरे, कसैले कृषि व्यवसायमा हात हाले, कसैले होम डेलिभरी वा स्थानीय उत्पादनको व्यवसाय सुरु गरे । तर, महामारीले ल्याएको संकटले तिनका सपना चकनाचुर बनायो ।

कोरोना पछि अहिले क्रमश बजार खुले पनि पुरानो लयमा फर्कन निकै कठिन भएको छ । साना व्यवसायीहरूले पहिलेको ऋण तिर्न सकिरहेका छैनन्, बैंकहरूबाट थप ऋण पाउन गाह्रो छ, र ग्राहकहरूको क्रयशक्ति अझै कमजोर छ । बजारको माग घटेको छ, मूल्यवृद्धिले लागत बढेको छ, तर उपभोक्ताले पुरानै मूल्यमा सेवा वा सामान खोजिरहेका छन् । यस्तो दबाबले गर्दा व्यापारीहरू नाफा होइन, घाटा सहेर व्यापार चलाइरहेका छन् ।

केही उदाहरण लिऔँ — एक जना साना स्तरका रेडिमेड पसलका मालिकले आफूले दश लाख ऋण लिएर पसल थालिएको तर लकडाउनमा १८ महिना व्यापार ठप्प भएको, अहिले ग्राहक नहुनु, ऋणको ब्याज दिन नसक्नु, र पारिवारिक दबाब झेल्नु परेको अवस्था बताए । यस्ता हजारौं व्यापारीहरू अहिले पनि मानसिक तनाव र भविष्यप्रतिको अनिश्चिततामा बाँचेका छन् ।

नेपालका युवाहरूले विगत दशकमा स्वदेशमै केही गर्ने सोच बनाउँदै आएका थिए । सामाजिक सञ्जाल, सफलताका प्रेरणादायी कथाहरू, र स्टार्टअप संस्कृतिको विकाससँगै युवाहरू व्यवसायतर्फ झुक्न थालेका थिए । ‘देशमै केही गरौं, आफ्नै माटोमा पसिना बगाऔं’ भन्ने भावना बढ्दै गइरहेको थियो । तर महामारीले सबै योजना भत्कायो ।

कतिपय युवा व्यवसायीहरूले व्यवसायमा लगानी गरेको पूँजी डुबाए, ऋणको भारीले थिचिए, परिवारको अपेक्षा र आलोचनाले निराश भए । जब राज्यबाट कुनै राहत वा प्रोत्साहन नपाएपछि, उनीहरू पुनः विदेशिने निर्णय गर्न बाध्य भए । कोही कतारतिर लागे, कोही कोरियाको इपियस तयारीमा लागे, कोही मलेशिया र युएई गए । ती युवाहरूको एउटै भनाइ थियो — “देशमै केही गर्न खोज्दा साथ दिने निकाय नै छैन ।”

नेपाल सरकारले महामारीको समयमा राहत प्याकेजहरू घोषणा गरे तापनि ती व्यवहारमा झन् समस्या झेल्ने कारण बने । ऋण पाउन कागज—पत्रको झन्झट, बैंकको हिच्किचाहट, र असमान पहुँचले गर्दा सहुलियत ऋण अधिकांश युवासम्म पुगेन । स्वरोजगार कार्यक्रमहरू प्रचारको भरमा सीमित रहे, निगरानी र प्रभावकारिता कमजोर रहे ।

त्यस्तै, कर प्रशासन, नगरपालिका नियमन, व्यवसाय दर्ता प्रक्रिया, अनुमति पत्रहरू, अनावश्यक जाँचजाँचले व्यवसाय गर्न चाहनेहरू हतोत्साहित भए । राज्यले उत्पादनमुखी व्यवसाय र रोजगारी सिर्जनामा जोड दिनुको सट्टा आयातमुखी बजारलाई प्रोत्साहन दियो ।

अबको अवस्थामा राज्य, निजी क्षेत्र, र युवाहरू बीच विश्वासको सेतु बनाउनु अत्यावश्यक छ । सस्तो ब्याजमा सहज ऋणः साना व्यवसायी र स्टार्टअपलाई लक्षित गर्दै सरल प्रक्रिया सहितको सस्तो ब्याज ऋण स्किम सञ्चालन गर्नुपर्छ । प्राविधिक र व्यवस्थापन तालिमः व्यवसायमा टिक्नका लागि आवश्यक सीप, बजार व्यवस्थापन, अनलाइन मार्केटिङ, कर शिक्षा लगायत तालिमहरू प्रदेशस्तरमै सहज रूपमा उपलब्ध गराउनुपर्छ । विदेश फर्केकाहरूको पुनर्संलग्नताः विदेशबाट फर्केका युवाहरूको सीप पहिचान गरी उनीहरूलाई स्थानीय व्यवसायसँग जोड्ने कार्यक्रम ल्याउनुपर्छ ।

त्यस्तै “डिजिटल प्लेटफर्मको सहयोगः स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न अनलाइन बजार, मोबाइल एप्स र डिजिटल भुक्तानीलाई सबल बनाउनुपर्छ । स्थानीय निकायको सक्रियताः गाउँपालिकादेखि महानगरसम्मका निकायहरूले स्थानीय युवा व्यवसायीलाई अनुदान, बजार व्यवस्थापन, र नीति निर्माणमा समावेश गर्नुपर्छ ।”

कोरोना महामारीले नेपालका साना व्यापारीहरू र युवा व्यवसायीहरूको सपना, श्रम, र लगानीमा गम्भीर चोट पुर्‍याएको छ । अहिले उनीहरूको अवस्था केवल आर्थिक मात्र नभई मानसिक, सामाजिक, र पारिवारिक रूपमा समेत कमजोर बनिरहेको छ । विदेशिनु उनीहरूको चाहना होइन, बाध्यता हो ।

यदि राज्यले यिनको पीडा नबुझ्ने हो भने, हामी निरन्तर प्रतिभा पलायन, उद्यमशक्ति पलायन, र सम्भावनाको ह्रासतर्फ उन्मुख हुनेछौं । समय मै चेतना लिएर व्यवहारमा लाग्ने नीति र कार्यान्वयनको खाँचो छ । युवा व्यवसायीहरूलाई देशमै अड्याउने वातावरण बनाउनु आजको प्रमुख आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे