तुलाध्वज मल्लद्धारा स्व. धर्मपत्नी सीताकाे सम्झनामा नीलसागरलाई नगद र खाद्यान्न सहयोग
सिसहनियाँ ५ साउन। राप्ती गाउँपालिका–८, पिपरी निवासी समाजसेवी तुलाध्वज मल्लले आफ्नी स्वर्गीय धर्मपत्नी सीता मल्लको सम्झनामा नीलसागर सेवा आश्रमलाई नगद तथा खाद्यान्न सहयोग गरेका छन्।
उनले आफन्तजन सहित वडा नं. ८ कै मिलनडाँडा स्थित आश्रममा पुगेर आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चौधरीलाई नगद १० हजार ३ सय रुपैयाँसहित दैनिक उपभोग्य सामग्रीहरू प्रदान गरेका हुन्। सहयोग स्वरूप उनले चामल, दाल, चिनी, नुन, तेल, साबुन, तरकारी तथा फलफूल प्रदान गरेका छन्। सहयोग कार्यक्रममा मल्ल परिवारका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। उक्त अवसरमा कार्यवाहक अध्यक्ष चौधरीले यस्तो मानवीय सहयोगले आश्रममा आश्रित बेसहाराहरूको मनोबल बढाउने र सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे।
समाजसेवी मल्लले स्व. धर्मपत्नीको सम्झनामा प्रत्येक वर्ष कुनै न कुनै सामाजिक कार्य गर्ने जनाउँदै यसमार्फत समाजप्रतिको दायित्व निर्वाह गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने बताए।

