देउखुरीकाे वनगाउँबाट बेवारिसे कपडा बरामद : कोइलाबास भन्सारमा बुझाइयो
दाङ १ साउन । वडा प्रहरी कार्यालय लमहीले भन्सार छलि गरी अबैध रूपमा ल्याइएका बेवारिसे कपडा नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो करिब २ बजे लमही नगरपालिका–३ अन्तर्गत बनगाउँ क्षेत्रबाट ती सामग्री बरामद गरिएको हो।
प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार गोप्य सूचनाको आधारमा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो। “विल–बिजक विना अबैध रूपमा भन्सार छलि गरेर राखिएको कपडा बेवारिसे अवस्थामा भेटिएको सूचना पाएपछि टोली पठाइएको थियो,” उनले बताए। प्रहरी सहायक निरीक्षक मान बहादुर चौधरीको नेतृत्वमा खटिएको टोलीले ती सामानहरू नियन्त्रणमा लिई कोइलाबास भन्सार कार्यालयमा बुझाएको जानकारी दिइएको छ।
बरामद गरिएका कपडा कसले राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सीमावर्ती क्षेत्रहरू हुँदै हुने अबैध ओसारपसार र भन्सार छलि कार्यविरुद्ध निगरानी बढाएको बताएको छ। यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रहरीको भनाइ छ। साथै प्रहरीले स्थानीयलाई यस्ता गतिविधि देखेमा तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह समेत गरेको छ।

