दाङमा राँगा खरिदको नाममा किसान ठग्ने व्यापारी पक्राउ
दाङ १ साउन । दाङका किसानहरूलाई राँगा खरिदको नाममा ठगी गर्दै हिँड्ने एक राँगा व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार गढवा गाउँपालिका–४, पर्साका ४४ वर्षीय मोहम्मद जमिल मुसलमानलाई बुधबार पक्राउ गरिएको हो।
दर्जनौं किसानलाई राँगा खरिद गर्ने नाममा पैसा नदिई ठग्दै आएको आरोपमा मुसलमानलाई प्रहरीले करिब दुई महिनाको खोजीपछि पक्राउ गर्न सफल भएको हो। प्रहरी उपरीक्षक अर्जुन तिमिल्सेनाका अनुसार मुसलमानले चलनचल्तिको मूल्य भन्दा २/३ हजार रुपैयाँ बढी दिने भन्दै विश्वास दिलाएर राँगा लिएर फरार हुने गरेको पाइएको छ। २०७८ माघ २३ गते दंगिशरण गाउँपालिका–४ निवासी तेजमान चौधरीसहित तीन जनाको कूल २ लाख ८० हजार मूल्य बराबरका ६ वटा राँगा उधारोमा लिएर मुसलमान सम्पर्कविहीन भएपछि पीडितहरूले २०८१ मंसिर २१ गते जिल्ला प्रशासन कार्यालय दाङमा ठगीको उजुरी दिएका थिए। जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि दाङ प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा मुसलमानले दाङका विभिन्न ग्रामिण बस्तीहरूमा घुमी घुमी किसानहरूलाई राँगा र भैसी उधारोमा लगेर पैसा नतिरी ठग्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ।

