दाङ बंगलाचुलीकाे आधारभूत विद्यालय दाङवाङ शैक्षिक र व्यवहारिक शिक्षामा अब्बल बन्दै
बंगलाचुली ३२ असार । दाङकाे बंगलाचुली स्थित दाङवाङस्थित श्री आधारभूत विद्यालय पछिल्लो समयमा शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार गर्दै अगाडि बढिरहेको छ। विद्यालयले शैक्षिक पाठ्यक्रमसँगै खेलकुद र व्यवहारिक शिक्षामा विशेष ध्यान दिँदै आएको छ।
विद्यालयका प्राध्यापक श्री खेम बहादुर मगरका अनुसार, विद्यार्थीलाइ केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारमै आधारित शिक्षा दिनु पर्नेमा विद्यालयले प्राथमिकता दिएको छ। यसका लागि विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ।
विद्यालयका सूचना अधिकारी हेमन्त जी.सी.ले जानकारी दिए अनुसार, अभिभावक, शिक्षक तथा स्थानिय बुद्धिजीवीहरूसँग नियमित छलफल तथा परामर्शमार्फत शैक्षिक गुणस्तर सुधार गर्ने कार्यमा विद्यालय सक्रिय रहेको छ। “विद्यार्थीले प्राप्त गरेको शिक्षाले उनीहरूको भविष्य सुनिश्चित गर्न सकोस् भन्ने उद्देश्यले व्यवहारिक शिक्षामा जोड दिइएको हो,” उनले भने।
वि.सं. २०३६ सालमा स्थापना भएको यो विद्यालयले हाल ४६ औं वार्षिकोत्सव मनाएको छ । यस अवधिमा विभिन्न सहयोगी दाताहरू तथा संस्थाहरूको साथले विद्यालयको पूर्वाधार र कार्यक्रमहरू सुदृढ हुँदै आएका छन्। हाल विद्यालयमा हाप्किडो मार्सल आर्ट तालिम सुरु गरिएको छ भने अन्य खेलकुद गतिविधिहरू पनि नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।
यसले विद्यार्थीहरूमा अनुशासन, आत्मरक्षा र आत्मविश्वास अभिवृद्धि गरेको विद्यालय प्रशासनको भनाई छ। सामुदायिक विद्यालयप्रति समाजमा कायम रहेको केही नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्न आफूहरू निरन्तर लागिरहेको शिक्षकहरूको भनाइ छ।
“सार्वजनिक विद्यालय पनि उत्कृष्ट हुन सक्छन् भन्ने उदाहरण हाम्रो विद्यालय बन्ने दिशामा छ,” प्राध्यापक मगरले भने।
स्थानिय समुदाय, अभिभावक र शिक्षकहरूको समन्वयले श्री आधारभूत विद्यालय दाङवाङ अब एक उदाहरणीय सामुदायिक विद्यालय बन्दै गएको देखिन्छ।
