ममता गिरीले अभिनय गरेकाे ‘नेता हाम्रा भएनन्, नेता राम्रा भएनन्’ तीज गीत सार्वजनिक
भालुवाङ २७ असार । तीजको रौनक नजिकिँदै गर्दा समाजमा व्याप्त राजनीतिक विकृतिलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको तीज गीत ‘नेता हाम्रा भएनन्, नेता राम्रा भएनन्’ शुक्रवार सार्वजनिक गरिएको छ ।
गीतमा कलाकार ममता गिरीको सशक्त अभिनय देख्न सकिन्छ । सामाजिक सन्देश सहितको यो गीतमा जनताका दुख, गरिबी, बलत्कार र नेताहरूको बेवास्ताको चित्रण गरिएको छ । देशमा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा भएका समस्याहरूको मार्मिक व्याख्या गर्दै गीतले जनताको आवाज बुलन्द बनाएको छ । सोमा स्वर्णकारको स्वर, ज्ञानेन्द्र स्वर्णकारको गीत संगीत, नृत्य निर्देशन पोषण भण्डारी र अभिनय ममता गिरी, सुस्मिता सापकोटा, गोमा पौडेलले गरेका छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी निवासी गिरी पछिल्लो समय सांगेतिक क्षेत्रमा जम्न थालेकी छिन् ।
पब्लिक एजुकेशन एकेडेमीमा अध्यापनरत गिरी सामाजिक संस्था आशाका किरण संस्थामा पनि क्रियाशील छिन् । गायिका सोमा स्वर्णकारको मिठासपूर्ण स्वरले गीतमा अझ प्रभाव थपेको छ । सो गीत गुड भ्वाइस स्टुडियो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । तीज पर्वलाई सामाजिक जागरणको माध्यम बनाउने प्रयास स्वरूप तयार पारिएको यो गीतले नेताहरूको भूमिका र उत्तरदायित्वप्रति गम्भीर प्रश्न उठाएको छ ।


पुरा भिडियाे हेर्नुहाेस्

