जिल्ला अदालत दाङका न्यायाधीशद्वारा राप्ती गाउँपालिकाको न्यायिक समितिको अनुगमन



जिल्ला अदालत दाङका न्यायाधीशद्वारा राप्ती गाउँपालिकाको न्यायिक समितिको अनुगमन

भालुवाङ २७ असार । दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवाली नेतृत्वको एक टोलीले शुक्रबार राप्ती गाउँपालिकाको न्यायिक समितिको अनुगमन गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको प्रभावकारी कार्यान्वयनमार्फत न्यायिक समितिले स्थानीय स्तरमै जनतालाई न्याय दिन सक्ने उल्लेख गर्दै न्यायाधीश ज्ञवालीले समितिलाई जिम्मेवारीपूर्वक काम गर्न सुझाव दिए । उनले न्यायिक समितिलाई जनताको नजिकको अदालतको रूपमा व्याख्या गर्दै असल नियतका साथ काम गरेमा न्यायको अनुभूति गराउन सकिने धारणा राखे । अनुगमनका क्रममा उनले राप्ती गाउँपालिकामा न्याय प्रवाहलाई अझ प्रभावकारी बनाउन अदालतको तर्फबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे। टोलीले न्यायिक समितिमा दर्ता भएका मुद्दाहरूको अवस्था, ईजलास कक्ष, अभिलेख व्यवस्थापन लगायतका पक्षहरूको अवलोकन समेत गरेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कमलापति चौधरीले हालसम्मको कार्यान्वयन स्थिति, चुनौती र सुधारको आवश्यकताबारे जानकारी दिइन् । साथै, न्यायाधीश ज्ञवालीले समितिलाई थप सशक्त बनाउन कानुनी सल्लाह तथा मार्ग निर्देशन दिएका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय तहको न्यायिक समिति जनताको नजिकको न्यायिक संयन्त्र भएको उल्लेख गर्दै यसको प्रभावकारिता बढाउन एक आपसमा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनले जनताको समस्यालाई स्थानीय तहमै छिटो र सरल रूपमा समाधान गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै न्यायिक समितिमा आएका उजुरीहरूको निष्पक्ष र यथासम्भव मेलमिलापमार्फत टुंगो लगाउने अभ्यासलाई अझ संस्थागत बनाउँदै लैजाने बताए। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वास विक,न्यायिक समिति सदस्यहरू गोबिन्द कुँवर क्षेत्री, ईश्वरी परियार, अदालतका अधिकृत प्रतिमा पुन,नायब सुब्बा राम बहादुर बुढा,पालिकाका उजुरी प्रशासक सुभास भट्टराई लगायत मेलमिलापकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे